तातोपानी नाका सञ्चालन, रसुवागढी नाका भने बन्द नै रहने

विहीबार, २७ चैत्र २०७६, १२ : ४४
तातोपानी नाका सञ्चालन, रसुवागढी नाका भने बन्द नै रहने

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । 
गत माघदेखि बन्द रहेको सो नाका अत्यावश्यक सामग्री ल्याउनका लागि बुधबार साँझदेखि खोलिएको हो । 

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको छ ।

पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ । 

तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले शुक्रबार ठूला परिमाणमा सामान आइपुग्ने बताए ।  

यस्तै चीनसँग जोडिएको अर्काे ठूलो नाका रसुवागढी नाका तत्कालका लागि नखुल्ने भएको छ । 

नेपालले अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।