कोरोना परिक्षण तिब्र, एकै दिन दुईसयको स्वाब परिक्षण

बुधबार, २६ चैत्र २०७६, ०७ : ३०
कोरोना परिक्षण तिब्र, एकै दिन दुईसयको स्वाब परिक्षण

कञ्‍चनपुर, अछाम । कोरोना भाइरस संक्रमण भए–नभएको पुष्टि गर्न अछाममा क्वारेन्टाइनमा बसेका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाका २ र सरकारले पठाएका तीन जना स्वास्थ्यकर्मीको संयुक्त टोलीले मंगलबार जिल्लाका चार स्थानमा पुगी स्वाब संकलन गरेको हो ।

बयालपाटा अस्पताल, जिल्ला अस्पताल, सदरमुकाम मंगलसैन र कमलबजारमा बनाइएका क्वारेन्टाइनमा बसिरहेकाको स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्लामध्ये भारतबाट फर्किनेको संख्या धेरै भएकाले अछाममा कोरोना परीक्षण गर्नुपरेको उनले बताए ।

पौडेलका अनुसार मंगलसेनस्थित क्वारेन्टाइनमा रहेका ५३ जनाको स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै घर पठाइनेबारे निर्णय हुनेछ । ‘सोमबार उहाँहरूलाई क्वारेन्टाइनमा राखेको चौधौं दिन भइसकेको थियो । घर पठाउने तयारीमा थियौं । तर, कञ्चनपुरमा संक्रमित भेटिइसकेपछि हामीले थप सतर्कता अपनाएका छौं,’ उनले भने, ‘अब उहाँहरूमा कोरोना भाइरसको संक्रमण छैन भन्ने पुष्टि भएपछि मात्रै पठाउँछौं ।’ उनका अनुसार संकलित नमुनाको र्‍यापिड र पीसीआर दुवै किटबाट परीक्षण हुनेछ ।

अछामका प्रमुख झनकराज ढुंगानाले भने, ‘प्रतिनिधिमूलक ढंगले प्रत्येक पालिकाका १० जनाको कोरोना परीक्षण गरिने भएको छ ।’ स्वाब संकलनका लागि अछाम आएको विशेषज्ञ टोली मंगलबार साँझ नै काठमाडौं फर्केको छ । उनका अनुसार परीक्षणको रिपोर्ट आउन भने कम्तीमा तीन दिन लाग्नेछ । जिल्लाका १ सय ७१ ठाउँमा क्वारेन्टाइन स्थापना गरिए पनि भारतबाट फर्केकाहरूलाई मंगलसेनमा मात्रै राखिएको उनले बताए । जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा रहेका ३० वटा आइसोलेसन बेडमा शंकास्पद बिरामीको उपचार भइरहेको छ ।

मंगलसैन क्वारेन्टाइनमा बसेकाहरूले चौधौं दिन पूरा हुँदासम्म पनि कोरोना परीक्षण नगरेर बेवास्ता गरेको बताएका छन् । ‘चौधौं दिनसम्म हामी यतै छौं । बिहान–बेलुका ज्वरो जाँच मात्रै गर्छन् । अहिलेसम्म कोरोना परीक्षण गरेको भए हाम्रो रिपोर्ट आइसक्थ्यो,’ क्वारेन्टाइनमा बसेका दीपेन्द्र रावलले भने, ‘यहाँ भौतिक दूरी पनि कायम गरिएको छैन । औपचारिकताका लागि मात्रै क्वारेन्टाइनमा राखिएको छ ।’ ५३ जनालाई एउटै भवनमा राखिएपछि क्वारेन्टाइनभित्रै झगडाको स्थिति सिर्जना भएको उनले सुनाए । ‘आफ्ना लागि बस्नुपर्ने हो भन्ने यहाँ बसेकाहरूले पनि बुझेका छैनन् । मान्छे एकै ठाउँमा जम्मा भएर बस्नुपर्ने अवस्था छ,’ उनले भने ।

संक्रमितलाई ट्युबबाट तार्नेको स्वाब संकलन

कोरोनाको संक्रमण देखिएका कञ्चनपुरका ४१ वर्षीय व्यक्तिसहितको ११ जनाको टोलीलाई महाकाली नदीमा ट्युबबाट तार्ने दुई जनाको पनि स्वाब संकलन गरिएको छ । आइतबार सम्पर्कमा ल्याइएका उनीहरूको मंगलबार महाकाली अस्पतालको टोलीले स्वाब संकलन गरेको हो ।

अस्पतालका डा. सरोज आचार्यका अनुसार मंगलबार ५ जनाको स्वाब संकलन गरिएको छ । जसमा धनगढीमा पहिलोपटक संक्रमित देखिएका युवकसँगै संयुक्त अरब इमिरेट्सबाट आएका २ जना र क्वारेन्टाइनमा बसेका १ जना पनि छन् । ‘अस्पतालले हालसम्म ४३ जनाको स्वाब संकलन गरिएको छ, जसमध्ये ११ जनाको मात्रै रिपोर्ट आएको छ,’ उनले भने, ‘पछिल्लोपटक स्वाब संकलन गरिएका ३२ जनाको रिपोर्ट आउन बाँकी छ ।’कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस