विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाइने

रासस

शनिबार, २२ चैत्र २०७६, १९ : ४९
विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाइने

फाईल फोटो

काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताउनुभएको छ । 

सल्यानको सदरमुकाम खलङ्गामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले कोरना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिनुभयो । “प्रदेश सरकारले जहाँ कोरोनाको सङ्क्रमण देखिन्छ त्यही ठाउँलाई लकडाउन गरेर उपचार गर्नका लागि एम्बुलेन्स जाने स्थानमा एम्बुलेन्स र जान नसक्ने ठाउँमा हेलिकप्टरमार्फत विशेषज्ञसहितको टोली पठाएर उपचार गर्ने व्यवस्था मिलाएका छौँ,” मन्त्री रावलले भन्नुभयो ।

प्रदेश सरकारले १० जिल्लाका अस्पतालको स्तरोन्नतिलाइ रु ५०÷५० लाख उपलब्ध गराएको जानकारी दिनुभयो । “हामीले कारोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सबै अस्पतालमा पठाइसकेका छौँ, अब आवश्यकता र मागका आधारमा सबै पालिकामा उपलब्ध गराउने योजना छ”, मन्त्री रावलले भन्नुभयो । 

प्रदेशभित्रका सबै अस्पतालमा कोरोना उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी भर्ना गर्न मन्त्रीले आग्रह गर्नुभएको छ । “हामीले कोरोना रोकथामका लागि आवश्यक जनशक्ति भर्ना गर्न निर्देशन दिइसकेका छौँ आवश्यकताका आधारमा भर्ना गर्नुस् सरकारले प्रभावकारी काम खोजेको छ”, मन्त्री रावलले भन्नुभयो ।     

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्न लागको जानकारी दिनुभयो । “देश लकडाउन भएको कारणले विपन्न, ज्याला मजदूरी गरेर खानेका लागि प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्न लागेको छ”, मन्त्री ज्वालाले भन्नुभयो । “कोरोनासँग लड्न तयारी पूरा गरेका छौँ, सरकार तपाईहरुको साथमा छ, नआत्तिएर सतर्कताका साथ जिम्मेवारी पुरा गर्नुस्”, मन्त्री ज्वालाले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा लकडाउनको पूर्णरुपमा पालना भएको र सबै स्थानीय तहले विपन्नको तथ्याङ्क सङ्कलन गरी खाद्यान्न वितरण अगाडि बढाइरकेको बताउनुभयो ।