लकडाउन लम्बिदैं, वातावरण प्रदुषण पनि घट्दै

सोमबार, १७ चैत्र २०७६, ०७ : ३९
लकडाउन लम्बिदैं, वातावरण प्रदुषण पनि घट्दै

काठमाडौं । प्रायः सधैं तुवाँलो र प्रदूषणले ढाक्ने काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभरको वायु गुणस्तरमा सुधार आएको छ।

सवारी साधन, उद्योग कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको पाइएको छ। काठमाडौंको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण (२.५ पीएम)को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ।

‘लकडाउनको सुरुका ३–४ दिन प्रदूषण खासै घटेको थिएन’, विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘शनिबारदेखि भने अवस्था निकै सुधार आएको छ। तोकिएको राष्ट्रिय मापदण्डभन्दा पनि निकै कम देखिएको छ।’ उनका अनुसार शनिबार धुलिखेलमा २.५ को मात्रा राष्ट्रिय मापदण्डभन्दा कम १४, शंखपार्कमा २० र भैंसेपाटीमा २४ रेकर्ड भएको छ।

सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ । विश्व स्वास्थ्य संगठनले २४ घण्टाका लागि २५ माइक्रोग्राम तोकेको छ । वायु गुणस्तर मापन गर्न वन तथा वातावरण मन्त्रालयको वातावरण विभागमातहत नेपालका विभिन्न भेगमा १७ स्टेसन स्थापना गरिएका छन्। काठमाडौं, ललितपुर, धुलिखेल, पोखरा, लुम्बिनी, चितवनको सौराहा, दाङ, नेपालगन्ज, सिमरा, सुनसरीको झुम्का, धनकुटा र दमकमा स्टेसन छन्।

अमेरिकी दूतावासले दूतावास परिसर महाराजगन्ज र कान्तिपथस्थित फोहोरा दरबारका दुई स्टेसनमार्फत पीएम २.५ को मात्रा मापन गर्दै आएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले लुम्बिनी, सौराह र रसुवाको यालामा स्टेसन स्थापना गरेको छ।

पोखरा, दाङ र दमक स्टेसनले पनि ती भेग आसपास प्रदूषण घट्दो देखाएको सिनियर केमिस्ट पौडेलले बताए। ‘पोखरामा शनिबारदेखि मात्रै प्रदूषण घट्न थालेको देखिन्छ। दाङमा पाँच दिनअघि घट्यो, बीचमा फेरि बढ्यो। तर अहिले सुधार आएको छ’, उनले भने, ‘दमकमा शुक्रबारसम्म केही बढी थियो, अहिले घटेको छ।’ यी केही स्टेसनको अवस्था विश्लेषण गर्दा देशभरिको वायुको गुणस्तरमा सुधार आएको अनुमान गर्न सकिने पौडेलको ठहर छ। अन्नपुर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस