लकडाउनमा होल्ड : कत्तिको प्रभावकारी र सुरक्षित ?

सफल खबर संवाददाता

आइतबार, १६ चैत्र २०७६, १२ : १२
लकडाउनमा होल्ड : कत्तिको प्रभावकारी र सुरक्षित ?

काठमाडौँ  । यतिखेर मुलुक बन्द कोठामा सिमित छ ।  घर भित्रैको बास बस्न सरकराले आदेश दिएको आज ६ दिन वित्त्यो । लकडाउनलाई सरकारले अझै लम्याउने तयारी गरेको छ ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध हिंड्ने मानिसलाई प्रहरीले यसअघि पक्राउ गरेर पछि छाड्थ्यो । यसो गर्दा कोभिड १९ को जोखिम बढ्ने भन्दै प्रहरीले शनिबारबाट नयाँ नियम लागु गरेको छ ‘होल्ड’ । 

जुन ठाउँमा मान्छे भेटिन्छ, त्यही ठाउँमा केही घण्टाका लागि ‘होल्ड’ गर्ने (एकै ठाउँमा राख्ने) । त्यहाँबाट कहिँ जान पाईँदैन, केही घण्टापछि जुन ठाउँबाट आएको हो, त्यही ठाउँमा फर्काईन्छ । आज हिवान मात्रै यसरी होल्डमा ६०० जनाले समय विताए । 

यसअघिको पक्राउका बेला सयौँको सङ्ख्यामा एकै ठाउँमा मानिसको भिड हुन्छ । भिड जम्मा गर्दा कसैमा रोगको संक्रमण भए फैलनसक्ने सम्भावना अधिक हुन्छ । प्रहरीमा रोग फैलियो भने समुदायमा जाने सम्भावना झन् बढी हुन्छ । त्यसैले उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आदेश उल्लङ्घन गर्नेका लागि कारवाहीको नयाँ नियम लागू गरेको हो । 

कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भने, ‘पक्राउ गरेर लैजाँदा मानिस धेरै जम्मा हुने र राख्ने ठाउँको अभाव तथा भिड बढी हुँदा जोखिम बढ्ने देखियो, त्यसैले अब कारवाही स्वरुप जसलाई जहाँ भेटिन्छ, उसलाई त्यहीँ होल्ड गर्न थालेका छौँ ।’ 

उनका अनुसार सडकपेटीमा जहाँ भेटिन्छन्, त्यही ठाउँमा केही मिटरको दुरीमा मानिसलाई कम्तिमा दुई घण्टा राखिने छ । त्यसो गर्दा उनीहरुलाई प्रहरीले छुन पनि पर्दैन । जसले सबैजना सुरक्षित हुन सकिन्छ । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसरलाई उक्त विषयमा निर्देशन नै दिइसकेको पोखरेलले बताए ।

 यो कत्तिको प्भावकारी होला भन्ने कुरा अझै केही दिनको अबस्थाले थाहा पाउन सकिन्छ ।  तर यसरी सामाजिक दुरी कायम गरी होल्ड गर्दा भने एक व्यक्तिबाट अर्काै व्यक्तिमा रोग सर्ने सम्भावना भने न्यून हुन्छ ।  पक्राउ गर्दाको समयमा जस्तो जोखिम भने नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । 

एकै ठाउँमा बस्दा उल्लङ्घनकर्तामा एउटा चेतावनी पनि हुने र जोखिम पनि कम हुने प्रहरीको विश्लेषण छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने विरुद्ध कडारूपमा प्रस्तुत हुन थालेको छ । यो नियमलाई मुलुकभर नै लागू गर्नुपर्ने माग आउन थालेको छ । 

कोरोना भाइरसको सङ्मण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने क्रम भने अझै रोकिएको छैन । चेतना भएर पनि मानिसमा लापरवाही गर्ने क्रम देखिएको छ । अन्य बेलाको जस्तो बन्द नभएकाले स्वास्थ्यमा खेलवाड गर्न नहुने चिकित्सकहरुले बताउँदै आएका छन् । साँझ बिहान अझै बढी मान्छे निस्किने गरेका छन् । दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले कुनै सम्झौता गर्न नसक्ने प्रहरीले जनाएको छ ।

घरमै बसेर घरमै रमाउनुभन्दा अन्य विकल्प नहुने मनोविद पदमराज जोशी बताउँछन् । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी यही चैत १८ गते बिहान ६ः०० बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । आज छैठौँ दिन मुख्य सडक र बजारमा सरकारी आदेशको पूर्ण कार्यान्वयन भएको देखिएको छ । 

तर भित्री बजार र सडकमा भने अझै मानिसको चहलपहल देखिन्छ । साँझको समयमा बढी निगरानी जरुरी रहेको स्थानीयले बताएका छन् । मुलुकमा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस