सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत पुग्यो

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०८२, ०९ : ५०
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत पुग्यो

काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो।

हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्।

उनका अनुसार अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८३४ मिटर काम सकिएको इन्जिनीयर ज्ञवालीले बताइन् । उनका अनुसार अहिले सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ।

‘सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ । सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ’, उनले भनिन्।

दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । इन्भर्ट र लाइनिङको काम सकेपछि एक दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए।

उनका अनुसार सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सुरुङमार्ग कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ।

सुरुङमार्गको कामलाई निर्धारित समयमा सम्पन्न गर्नरगराउन, जनप्रतिनिधिले गर्नुपर्ने आवश्यक सहयोगका अनुगमनमा आएको प्रतिनिधिसभाका सांसद ठाकुरप्रसाद गैरेले बताए।

प्रतिक्रिया दिनुहोस