कोरोना त्रास

विश्व अनिश्चित भविष्यतर्फ : विश्व स्वास्थ्य संगठन

शनिबार, १५ चैत्र २०७६, ११ : १९
विश्व अनिश्चित भविष्यतर्फ : विश्व स्वास्थ्य संगठन

File Photo

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर संक्रमित हुनेको संख्या झण्डै ६ लाख पुगेको छ। यस्तै २७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

परिस्थिति थप संकटपूर्ण बन्दै गएका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पीपीईको अभाव गम्भीर बनेको बताएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पीपीई) उत्पादनका लागि अपिल गरेका छन् ।

यस्तै उनले कोरोना भाइरसका कारण हुने कोभिड–१९ विरुद्ध प्रभावकारी नतिजा नदेखिएका औषधिको प्रयोग रोक्न पनि सुझाव दिएका छन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘विश्वभर भइरहेको पीपीईको अभाव अहिलेको सबैभन्दा ठूलो र तात्कालीक चुनौति हो । यसले गर्दा जीवन रक्षा गर्ने हाम्रो संयुक्त प्रयासमा धक्का लाग्ने जोखिम बढेको छ ।’

डा. टेडरोसले भने, ‘कम तथा मध्यम आय भएका देशका स्वास्थ्यकर्मीले पनि धनी देशका स्वास्थ्यकर्मीले जस्तै सुरक्षात्मक सामग्री पाउनु पर्छ ।’

डब्लुएचओका आपतकालीन अवस्था सम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले विश्व अनिश्चित भविष्यतर्फ लागेको बताए । उनले भने, ‘विश्वका धेरै देशहरुमा यो महामारी चक्रको सुरुवातमात्रै भएको देखिँदै छ । केही देशहरु यो महामारीको चक्रबाट गुज्रिएका छन्, सिंगापुर र चीन । यी देशहरुमा रोग पुनः नफैलियोस् भन्ने छ ।’