मोटर्स उत्पादन गर्ने कम्पनीलाई भेन्टिलेटर उत्पादन गर्न ट्रम्पको आदेश

शनिबार, १५ चैत्र २०७६, ०८ : ४१
मोटर्स उत्पादन गर्ने कम्पनीलाई भेन्टिलेटर उत्पादन गर्न ट्रम्पको आदेश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधन र त्यसका सामान उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी जनरल मोटर्सलाई  भेन्टिलेटर उत्पादन गर्न आदेश दिएका छन् ।

कोरोना भाइरसका कारण संक्रमति भएका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएको भन्दै ट्रम्पले जनरल मोटर्सलाई यस्तो आदेश दिएका हुन् ।

कार निर्माता जाइन्टका प्रमुख कार्यकारीको आलोचना गरेपछि ट्रम्पले भेन्टिलेटर उत्पादनको आदेश दिएका हुन् । उनले कोरियाली युद्धका बेलाको सुरक्षा सामग्री उत्पादन सम्बन्धी कानूनको उल्लेख गर्दै यस्तो आदेश दिएका हुन् । 
सो कानून अनुसार राष्ट्रपतिले कम्पनीहरुलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक सामग्री उत्पादनका लागि बाध्य पार्न सक्छन् ।

ट्रम्पले जिएमले समय खेल फालिरहेको आरोप लगाउँदै अमेरिकीको जीवन जोगाउनका लागि तत्काल प्रतिक्रियाको खाँचो रहेको बताए ।

अमेरिका अहिले कोरोना भाइरसको विश्वव्यापी महामारीको नयाँ इपिसेन्टर बनेको छ । अहिलेसम्म अमेरिकामा एक लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा दिन प्रति दिन संक्रमित बिरामीको संख्या बढ्दै गएको छ । कोरोनाको संक्रमण बढ्न नदिन अमेरिकामा उच्च सतर्कता अपनाएको छ ।