डा. शेरबहादुर पुन भन्छन् : ‘नेपालमा देखिएको कोरोनाका तिन संक्रमित बिरामी यस्ता छन्’

सफल खबर संवाददाता

विहीबार, १३ चैत्र २०७६, ०९ : १९
डा. शेरबहादुर पुन भन्छन् : ‘नेपालमा देखिएको कोरोनाका तिन संक्रमित बिरामी यस्ता छन्’

काठमाडौं । नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कुन केस कस्ता देखिएका छन् ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन यसो भन्छन् :
 
नेपालमा अहिलेसम्म ३ जनामा कोरोना संक्रमण देखा प¥यो । पहिलो र दोश्रो चोटी कोरोना देखा परेका भन्दा तेश्रो ब्यक्तिको केस अलिक फरक देखा परेको छ । पहिलो व्यक्ति चीनबाट आएका थिए, उनी निको भइसके । उनको खासै असर गर्ने खालको देखिएन । दोश्रो ब्यक्ती फ्रान्सबाट आएकी युवतीमा देखियो । शुरुमा उनलाई पनि लक्षण नै देखिएको थिएन् । उनी आफैँ सचेत भएर चेक गराउन आएकी हुन् । चेक गराउँदा कोरोना पोजिटिभ देखियो । उनी अहिले सामान्य अवस्थामा उपचारमा छिन् । 

तर, यो तेस्रो केस चाहिँ अलि फरक खालको छ । यो सुरुमै लक्षण देखिएको केस हो । यसलाई हामीले कोरोनाको परीक्षण अन्तर्गत राख्दा १५ प्रतिशतको रुपमा राखेका छौैं । त्यो भनेको कोरोना लागेको ८० प्रतिशत तत्कालै निको हुन्छन्, उनीहरु १४ दिन आइसोलेसनमा मात्रै बसेपनि पुग्छ, सामान्य उपचार गर्दा निको हुन्छ । 

अर्काे १५ प्रतिशतको राम्रोसँग उपचार गर्नुपर्छ । उपचार गर्दा सावधानी पनि अपनाउनुपर्छ । बाँकी ५ प्रतिशतको केस विश्वमा तपाईं हामीले देखेका छौं, जति प्रयत्न गर्दा पनि उपाय नै नलाग्ने खालको पनि हुन्छ । यो तेश्रो केस नेपालमा देखिएको हामीले हेर्दा १५ प्रतिशतकोमा राखेका छौं । जसको राम्रोसँग उपचार गर्नुपर्ने हुन्छ । उपचार गर्दा पनि सावधानी अपनाउनु पर्ने खालको छ । 

जहाँसम्म तेश्रो ब्यक्तिवाट अन्यलाई पनि संक्रमणको प्रश्न छ, त्यसमा उनको मुभमेन्टको कुरा हो । उनी कहाँ कहाँ गए ? धादिङ जाँदा के मा गए ? बसमा गएका हुन् भने त्यो बसमा यात्रा गर्नेहरुले केही नभएपनि परीक्षण गराउँदा राम्रो हुन्छ । अर्काे, उनी घरमा जाँदा परिवार बाहेक अन्यलाई भेटेका छन् भने उहाँहरुले पनि स्वास्थ्य परीक्षण गराउँदा हुन्छ । कोरोना पोजिटिभ देखिँदैमा डराउनु पर्दैन । तर, परीक्षण गराउन हिच्किचाउनु भएन । 

उनी वैदेशिक रोजगारीबाट फर्किएका युवा हुन् । उनी धादिङका हुन् र त्यहीँबाट ल्याइएको हो । त्यहाँको अस्पतालले उपचार गर्न नसकेपछि यता रेफर गरेको रहेछ । उनी १० गते अस्पतालको आइसोलेसनमा राखिएका थिए । हिजै रिपोर्ट आएको हो, हामीले पुनः परीक्षण गरेर कन्फर्म गरेका हौं । उनको अहिले उपचार भइरहेको छ । उनलाई सुरुमै कोरोनाको लक्षण देखिएको रहेछ, खोकी लाग्ने र ज्वरो आउने ।

त्यसपछि उनी धादिङकै घर नजिकैको अस्पतालमा पुगेको हुनुपर्छ । त्यहाँबाट रेफर गरेर आएको केस हो । अहिले उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । खासगरी कोरोनाको ८० प्रतिशत बिरामी निको हुन्छन्, केही जटिल बाहेक अरुलाई खासै समस्या हुँदैन । सुरुमै लक्षण देखिने केस अलि जटिल खालकै हुन्छ किनभने अन्य रोग छ भने त्यसले असर गर्छ । अहिले उनलाई सावधानीपूर्वक उपचार गरिरहेका छौं ।
(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस