कोरोनाको संक्रमण बढ्न नदिन कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गरेको व्यवस्थापनबाट केही सिक्ने की ?

अन्यत्रबाट घर फर्किनेहरुलाई क्वारेन्टाइनमा राख्न आफैंले मिलायो व्यवस्था

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, ०९ : १७
कोरोनाको संक्रमण बढ्न नदिन कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गरेको व्यवस्थापनबाट केही सिक्ने की ?

सुर्खेत । कोरोनाभाइरसको आतंक शहरमा मात्रै होइन, पहाडी जिल्लाहरुमा पनि छ । पछिल्लो समय भारतलगायत विदेशबाट घर फर्किनेहरु धेरै भएकोले कोरोना संक्रमणको आतंक बढेको हो ।

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले कोरोनाभाइरसको संक्रमण हुन नदिने र भएमा नियन्त्रणको योजना बनाएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीले भारतलगायत विदेशबाट घर फर्किनेलाई केही समय अलग राख्ने व्यवस्था मिलाएका छन् ।

उनले चारवटा विद्यालयमा अन्य क्षेत्रबाट आउनेहरुलाई क्वारेन्टाईनमा राख्न यस्तो व्यवस्था मिलाइएको शाहीले जानकारी दिए । शाहीले भने, “अहिलेसम्म त्यस्तो केही छैन, भारतबाट घर फर्किनेहरु धेरै भएकोले सम्भावित संक्रमणलाई ध्यानमा राखेर पूर्वतयारी गरेका छौं ।

भारत वा अन्य देशहरुबाट घर फर्किनेहरुलाई सुरुमा केही दिनमा चारवटा स्कूलमा अगलै राख्ने व्यवस्था गरेका छौं, स्वास्थ्य परीक्षणपछि मात्रै घरको सम्पर्क पठाइनेछ ।” अध्यक्ष शाहीले यो क्वारेन्टाइन भएको  बताए । त्यसैगरी मास्क वितरण, जनचेतनामूलक सन्देशसहित स्वास्थ्यकर्मी घरघर पुग्ने, एम्बुलेन्स तयारी अवस्थामा राखिएको अध्यक्ष शाहीले बताए ।

शंका लागेका व्यक्तिहरुको तुरुन्त स्वास्थ्य परीक्षण गर्ने र संक्रमण भएको शंका लागेमा जिल्ला सदरमुकामसम्म पुर्याउने व्यवस्था गाउँपालिकाले गरेको शाहीले जानकारी दिए ।

गाउँमा सिजनल ज्वरोका बिरामी भएको बताउँदै अध्यक्ष शाहीले उनीहरुको पनि स्वास्थ्य परीक्षण भइरहेको बताए । स्वास्थ्यकर्मीहरु घरघर गएर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाहीले जानकारी दिए । गाउँमा औषधि, मास्कलगायत दैनिक उपभोग्य बस्तुको अभाव बढ्दै गएको छ । उनले कसरी पूर्ती गर्ने भन्ने छलफल भइरहेको जानकारी समेत दिए । 

प्रतिक्रिया दिनुहोस