लकडाउन भएसंगै तरकारीको तेब्बर मुल्य बृद्धि, खोई अनगुमन ?

पत्रपत्रिकाबाट

बुधबार, १२ चैत्र २०७६, ०७ : २८
लकडाउन भएसंगै तरकारीको तेब्बर मुल्य बृद्धि, खोई अनगुमन ?

वीरगन्ज । लक डाउन भएसँगै वीरगन्जमा व्यापारीले आलुप्याज र हरियो तरकारीको भाउ तेब्बरले बढाएका छन् ।सोमबार बेलुकी मङगलबारदेखि एक साताका लागि देशभर लकडाउन गरिने निर्णय गरेसँगै वीरगन्जको बजारमा अभाव देखाउँदै व्यापारीहरुले तरकारीको भाउ तेब्बरले बढाएका हुन् ।

एक सातासम्म लकडाउन हुने भएपछि त्रासमा परेका उपभोक्तार मङगलबार बिहानै बजारमा पुग्दा तरकारीको भाउ तेब्बरले बढेको देख्दा अचम्मित भए। वीरगन्जको बजारमा सोमबार साँझसम्म खुद्रामा आलु किलोको ३० रुपैयाँ र प्याज ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो । तर, मङलबार बिहान बजारमा आलु खुद्रामा किलोको ८० रुपैयाँ र प्याज किलोको ७० रुपैयाँको भाउमा खरिद बिक्री भएको छ ।

यस्तै सोमबार साँझसम्म किलोको ८० रुपैयाँमा बिक्री भएको हरियो खुर्सानी मङगलबार भने किलोको ४ सय रुपैयाँले बिक्री गरिएको छ । यस्तै गोलभेडाको भाउ ४० बाट बढेर ८० रुपैयाँ भेन्टा ४० बाट बढेर ८० रुपैयाँमटरकोशा ५० बाट बढेर १ सय रुपैयाँ काउली २० बाट बढेर ६० रुपैयाँ किलो पुगेको छ।

५ रुपैयाँ गोटा पर्ने कागती मङगलबार भने १५ रुपैयाँमा उपभोक्ताले खरिद गरेका छन् । तरकारीका लागि प्रयोग हुने रुख कटहरको भाउ पनि ४० बाट बढेर किलोको १ सय रुपैयाँमा बिक्री भएको छ। व्यापारीले तरकारीको भाउ अचाक्ली बढाएका छन्मङगलबार बिहान घण्टघार छेउको तरकारी बजारमा भेटिएकी वीरगन्ज १५ नगवाका सुरेश यादवले भने,‘ अलि अलि मात्रै बढाएको भए फरक पर्दैनथ्यो तर यहाँ त दोब्बर तेब्बर नै भाउ बढाएका छन्।

कोरोनाको संकटका बेला बढी मुनाफा कमाउन व्यापारीले भाउ बढाएर कालोबजारी गरेको यादवले बताए । तर तरकारी बजारका व्यापारीले भने एक साताका लागि भारतको नाका बन्द र लक डाउन दुवै भएका कारण बाहिरबाट बजारमा तरकारी नै नआएकाले भाउ बढेको बताएका छन् । नाका बन्द छ भारतबाट तरकारी नै आइरहेको छैनतरकारी व्यापारी हरिश राउत कुर्मीले भने, आजदेखि यहा पनि लकडाउन भएकोले गाउँ गाउँबाट पनि किसानले तरकारी ल्याएका छैनन् । 

यता मङगलबार बिहान केहि घण्टा वीरगन्जमा तरकारी बजार खुलेपनि दिउँसोदेखि भने प्रहरीले बन्द गराइ दिएको छ । लकडाउनमा तरकारी तथा फलफूलका पसल र बजार बन्द  नगर्ने सरकारले निर्णय गरेको छ । तर वीरगन्जमा भने प्रहरीले तरकारी बजार पनि साँझ ६ बजे पछि मात्रै खुल्ने भन्दै बन्द गराएको हो । वीरगन्जको मिनाबजारमा रहेको मीना बजार कम्प्लेक्समा मङगलबार बिहान नै प्रहरीले ताल्चा लगाइ दिएको हो ।

घण्टाघर छेउको पार्कमा रहेको तरकारी बजार पनि दिउँसो १२ बजे देखि प्रहरीले बन्द गराएको हो । सात दिनका लागि लक डाउन भएपछि तरकारीको जोहो गर्न बजारमा आए पनि प्रहरीले तरकारी बजार पनि बन्द गराइ दिएका कारण मर्कामा परेको उपभोक्ताहरुले गुनासो गरेका  छन् ।लक डाउनमा सरकारले तरकारीका पसल र बजार खुल्ला रहने बताए पनि प्रहरीले वीरगन्जमा तरकारी बजार पनि बन्द गराएकाले आफुहरु अन्यौलमा परेको उपभोक्ताले गुनासो गरेका छन् ।

घण्टाघर छेउमा रहेको पार्कमा रहेको तरकारी बजार बिहान केहि समय खुल्ला रहेपनि प्रहरीले त्यहाको तर्कारी बजार पनि दिउँसो १२ बजे पछि भने बल प्रयोग गरेर बन्द गराइ दिएका कारण अब तरकारी पनि खान नपाइने अवस्था आएको उपभोक्ताको भनाइ छ । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस