बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग

एजेन्सी

आइतबार, ०६ फागुन २०७४, ०७ : २०
बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग

फ्लोरिडाको एउटा विद्यालयमा बुधवार गराइएको गोलीकाण्डमा बाँच्न सफल युवाहरू बन्दुक राख्न पाउने व्यवस्थामा कडाइको माग गर्दै निकालिएको र्‍यालीमा सहभागी भएका छन् ।
फोर्ट लवडुरडेल शहरमा प्रदर्शनकारीले अमेरिकी सांसद र राष्ट्रपति डोनल्ड ट्रम्पलाई इंगित गर्दै उनीहरूले 'लाज मान्नुपर्ने' भन्ने नारा लगाए ।
गोलीकाण्डका सन्दिग्ध निकोलस क्रुजले १७ जनाको ज्यान जाने गरी पार्कलेण्डस्थित मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलमा बुधवारको आक्रमण आफूले गराएको स्वीकार गरिसकेका छन् । यो अमेरिकी विद्यालयमा गराइएको सन् २०१२ यताकै सबैभन्दा हिंसात्मक आक्रमण हो ।
उक्त गोलीकाण्डले बन्दुक नियन्त्रणसम्बन्धी कडा व्यवस्था हुनुपर्ने लामो समयदेखिएको बहसलाई पुनः सतहमा ल्याइदिएको छ।
पार्कलेण्ड नजिकै आयोजना गरिएको र्‍यालीमा विद्यार्थी र उनीहरूका अभिभावकका साथै राजनीतिज्ञहरू पनि सहभागी थिए।
समाचार संस्था एपीका अनुसार र्‍यालीमा हजारौं मानिसहरूले सहभागिता जनाएका थिए।
सबैभन्दा अवीस्मरणीय पल त्यतिबेला आयो जब उच्च विद्यालयकी छात्रा एम्मा गोञ्जालेज मञ्चमा उक्लिन् र उनले बन्दुक राख्न पाउने पक्षमा वकालत गर्दै आएको न्याश्नल राइफल असोसिएशन (एनआरए) बाट चन्दा लिने गरेकोमा राष्ट्रपति डोनल्ड ट्रम्प र अरू राजनीतिज्ञहरूको आलोचना गरिन्।
उनले भनिन्, "यदि मेरो सामु राष्ट्रपति आएर त्यो भयानक त्रासदी भएको र त्यसबारे कसरी केही पनि गर्न लागिएको छैन भनेर भन्छन् भने म खुशीका साथ सोध्छुः न्याश्नल राइफल असोसिएशनबाट तपाईँले कति रकम पाउनुभयो राष्ट्रपतिज्यू?"
उक्त संगठनले ट्रम्पको चुनावी अभियानलाई इंगित गर्दै १८ वर्षीया छात्राले थपिन्, "मलाई थाहा छ केही हुनेवाला छैन। ३ करोड डलरको जो कुरा छ।"
बुधवारको गोलीकाण्डमा मारिएकाहरूका कतिपय आफन्तले संघीय जाँच निकाय एफबीआइका कामप्रति निराशा व्यक्त गरेका छन्।
यसअघि शुक्रवार राष्ट्रपति डोनल्ड ट्रम्पले आक्रमणमा बाँच्न सफल मानिसहरूसँग पार्कलेण्डमा भेटघाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस