कोरोना भाइरस (कोभिड–१९)

‘सेमीलकडाउन’ मा नेपाल, भारतीय नाकामा अन्यौल

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १६ : ११
‘सेमीलकडाउन’ मा नेपाल, भारतीय नाकामा अन्यौल

काठमाडौँ । कोभिड–१९ अर्थात कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपाल भने यतिखेर ‘सेमीलकडाउन’को अवस्थामा छ । चीनतिरको सीमा नाकाका बारेमा त्यति ठूलो चिन्ता छैन । किनभने पहिल्यैदेखि त्यहाँ चीन र नेपाल दुईतर्फी कडाई कायम छ । त्यसैपनि हिमालको पर्खाल रहेको उत्तरको सीमाना नेपालका लागि बलियो प्राकृतिक पर्खाल नै हो । 
समथर भूभागको भारततर्फको नाका भने नेपालका लागि यतिबेला निल्नु न ओकल्नुको सीमा बनेको छ । परम्परागत रुपमै नेपाल र भारतबीचको सीमा सँधै खुला रह्यो । भारतसँग जोडिएका हरेक सीमाना रोटीबेटीको सम्बन्धदेखि देखि व्यापार व्यवसायको परिचायक बनेर रहेका छन् ।

तर भारतमा जहिलेदेखि कोरोना भाइरसको संक्रमण तिब्ररुपले बढ्दै गयो । तबदेखि नेपालको आँखा र कान सतर्क बन्न थाल्यो । भारतमा कोरोनाले ५ जनाको ज्यान लिइसक्यो । २७५ जनामा संक्रमण देखिइसक्यो । हालसम्म नेपालमा एकजनाभन्दा बढि संक्रमित देखिएका छैनन् । भारतमा कोरानाको त्रासले त्यहाँ कामका लागि गएका नेपाली र भारतीय स्वयं पनि पछिल्लो समय विभिन्न सीमा नाकाहुँदै नेपाल प्रवेश गर्ने क्रम ह्वात्तै बढेको छ ।
शुक्रबार एकै दिन कैलालीबाट झण्डै १४ हजार मानिस नेपाल भित्रिए । सुस्ता, सुनौली, विरगंज, काकडभिट्टा, नेपालगंज लगायतका भारतीय नाकाबाट कति भारतीय र नेपाली भित्रिए लेखाजोखा नै छैन । 

सरकारको तर्फबाट शुक्रबार प्रधानमन्त्रीले गरेको सम्बोधनले अब देश विस्तारै लक डाउनतिर अघि बढ्दैछ भन्ने संकेत गर्छ । तथापी देशभित्रैको आन्तरिक आवतजावत हुन वा भारत तर्फको सीमानाकाबाटको आवतजावत झन तिब्र बनेको छ । सुरकारले सीमानाकाको सुरक्षा कडा बनाउन भारतसँग पहल थालेको छ । नाका जोडिएका प्रदेश सरकारले आफ्नै पहल जारी राखेका छन् । सुदुरपश्चिम प्रदेश सरकारले कम्तिमा एक साता भारत नजान अपिल गरिसकेको छ । तर सीमा नाका पुरै बन्द गर्ने वा केही खुकुलो पार्ने भन्ने सवालमा सरकार अन्यौलमा देखिन्छ ।
किनभने भारत तर्फका नाका केवल मानवीय आउजाउनका लागिमा मात्र हैन यि नाकाहरु नेपालमा अत्यावश्यक खाद्यान्न, औषधी लगायतका सामग्री ल्याउने मुख्य मार्ग पनि हो ।

भारतबाट ग्यास नआए नेपालमा खाना पाक्दैन । भारतबाट पेट्रोल र डिजेल नल्याए यहा एम्बुलेन्स चलाउन पनि मुस्किल पर्छ । खाद्यान्न केही दिन रोकिए धेरैका चुलोमा भात पाक्दैन । औषधी र अस्पतालजन्य धेरै सामग्रीमा भारतसँगै निर्भर छ नेपाल । त्यसैले नाका पुरै बन्द गर्दा त्यस्ता सामग्रीको अभावको कोरोनासँग पनि लड्न सक्दैनन् नेपाली । नुन देखि उनसम्मको सामग्री भारतबाटै आउने भएकाले नेपालीको जीवन नै भारत निर्भर छ भन्दा फरक नपर्ला । प्रधानमन्त्री स्तरमा र परराष्ट्र मन्त्री स्तरमा भारतसँग तारन्तार वार्ता चलिरहेकै छ । 

भारत ठूलो मुलुक र ठूलो जनसंख्याको धनि भएकाले उसलाई केही नागरिकको ज्यान जाँदा खासै फरक नपर्ला । तर नेपालमा एक जनाको ज्यान गयो भने पनि सरकारप्रतिको नागरिकको दृष्टिकोण धेरै नकारात्मक बन्न सक्छ । त्यसैले सरकारले नागरिकको ज्यानको सुरक्षा कोरोनाबाट त गर्नैपर्छ । त्यो सँगै उसको गास, बास र कपासको व्यवस्थापन पनि गर्नुपर्ने टड्कारो चुनौती छ । 
यही कारण भारततर्फको नाकालाई कसरी व्यवस्थापन गर्ने सरकारको टाउको दुखाई बनेको छ । झन भारतमा रहेका नेपालीसँगै भारतीय पनि ह्वारह्वारती नेपाल भित्रन थालेको अवस्थाले नेपालको स्वास्थ्य अवस्थामा चुनौती थपिएको छ । यसको ख्याल सरकारले गर्दै भारतर्फको सीमानाकालाई सुरक्षित तरिकाले व्यवस्थापन समयमै  गर्नु जरुरी छ । नत्र कोरोनाले नेपाललाई पनि आक्रान्त नपार्ला भन्न सकिन्न । 

विश्वका १ सय ८६ देशमा यसको संक्रमणको जालो फैलिसकेको छ । २ लाख ३४ हजार ७५ संक्रमित भैसके । विश्वभरमा ११ हजार ४ सय ३० ले ज्यान गुमाइसके । युरोपका विभिन्न मुलुकमा कोरोनाको कहर बढ्दै छ । चीनका भने केही मत्थर हुँदैछ । 

प्रतिक्रिया दिनुहोस