कालोबजारी गरे ५ वर्ष कैद

पत्रपत्रिकाबाट

शनिबार, ०८ चैत्र २०७६, ०७ : १०
कालोबजारी गरे ५ वर्ष कैद

काठमाडौं । सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ। खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र कार्टेलिङ गर्ने उद्योगी, आयातकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो।

मन्त्रालयले बजार अनुगमनका क्रममा अनुचित क्रियाकलाप (कृत्रिम अभाव, मूल्यवृद्धिलगायत) मा संलग्न व्यवसायीलाई तत्कालै कानुनअनुसार हदैसम्मको कारवाही गर्ने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार यसमा असहयोग गरेमा ग्यास उद्योग र व्यवसायीको अनुमतिपत्र खारेज गर्नेसम्मको निर्णय भएको छ। आपूर्तिमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतीलाल दुगडको उपस्थितिमा शुक्रबार भएको बैठकले उपभोग्य वस्तु आपूर्तिका सम्बन्धमा नौबुँदे निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए।

बैठकले मन्त्रालयको वाणिज्यतर्फका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा सरोकारवाला मन्त्रालय र निकायको प्रतिनिधित्व हुने गरी आपूर्ति व्यवस्थापन समन्वय समिति, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा आपत्कालीन आपूर्ति व्यवस्थापन कार्यदल गठन गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस