कोरोना भाइरस सन्त्रास

बजारमा अभाव भईरहेको सेनिटाईजर घरेलु रक्सीबाट बनाउन मिल्छ ?

शुक्रबार, ०७ चैत्र २०७६, ११ : ४५
बजारमा अभाव भईरहेको सेनिटाईजर घरेलु रक्सीबाट बनाउन मिल्छ ?

काठमाडौं । संसारभरि नै कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि नेपालमा पनि यसको त्रास बढेको छ । संक्रमणबाट जोगिन मानिसले मास्क र सेनिटाइजरको अत्यधिक प्रयोग गर्न थालेका छन् । सरकारले नै यो रोग भित्रन नदिन उच्च सकर्तता अपनाउन आग्रह गरेपछि अहिले बजारमा यसको माग बढ्दो छ ।

महामारीलाई कमाउने मौकाका रूपमा लिने केही कालाबजारीका कारण पनि बजारमा यसको अभाव भएको आरोप छ । यसै परिवेशबीच ललितपुर महानगरपालिकाले स्थानीयलाई मास्क र सेनिटाइजर बनाउने तालिम दिएको छ । बजारमा अभाव हुन नदिन महानगरले रक्सीबाट सेनिटाइजर बनाउने तालिम सञ्चालन गरेको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को प्राविधिक सहयोगमा महानगरले रक्सीबाट सेनिटाइजर बनाउने तालिम दिएको हो । गत आइतबारबाट सुरू भएको तालिममा नगरको २९ वडाका ६० जना प्रतिनिधि सहभागी थिए । महानगरले यसअघि मास्क बनाउने तालिम दिएको थियो । ‘सुरुमा हामीले बजारको अभावलाई बुझेर मास्क बनाउने तालिम दियौं,’ महानगरपालिकाका वरिष्ठ इन्जिनियर हरिश्चन्द्र घिमिरेले भने, ‘त्यसपछि नास्टसँग सहकार्य गरेर स्थानीयलाई सेनिटाइजर बनाउने तालिम दिएका हौं ।’

सहभागीलाई घरेलु रक्सीबाट सेनिटाइजर बनाउने सम्पूर्ण तरिका सिकाइएको घिमिरेले बताए । घरेलु रक्सीको प्रयोगमार्फत नै सेनिटाइजर बनाउन सकिने हुँदा उत्पादनका लागि स्थानीय जनशक्ति तयार पार्न तालिम दिइएको नास्टका प्रवक्ता सुरेश कुमार ढुंगेलले बताए । 

तालिमपश्चात् घरेलु रक्सी प्रशोधन गरी सेनिटाइजर बनाउन निकै सजिलो हुने बताउँछन्, तालिममा मुख्य प्रशिक्षक एवम् नास्टका वरिष्ठ वैज्ञानिक साजनलाल स्याउला । स्याउलाका अनुसार घरेलु रक्सीमा ३५ देखि ४२ प्रतिशत इथाइनलको मात्रा हुन्छ ।

भाइरसका कीटाणु मार्नका लागि भने ७५ देखि ८० प्रतिशत इथाइनल आवश्यक हुन्छ । ‘हामीले रक्सीमा इथाइनलको मात्रा बढाउने तरिका सिकाएका हौं,’ उनले भने, ‘विश्व स्वास्थ्य संगगठनले सिफारिस गरेको तरिकामा नै हामीले रक्सीमा इथाइनलको मात्रा बढाउँन सिकायौं ।’ (साप्ताहिकबाट साभार)

प्रतिक्रिया दिनुहोस