कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले १० करोडको आकस्मिक कोष स्थापना गर्ने

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, १९ : २२
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले १० करोडको आकस्मिक कोष स्थापना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि रु. १० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको विशेष कार्यपालिका बैठकले यस्तो निर्णय गरेको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । उक्त कोषबाट उक्त भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडाहरुलाई क्रमश रु. २ लाख, रु.३ लाख र रु.४ लाखका दरले निकाशा पठाउने निर्णय गरेको छ । ‘

कोरना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु निर्माण एवं वितरण गर्ने निर्णय भएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री,  प्रचार सामाग्री सहितको हेल्प डेक्सहरु स्थापना तथा संचालन गरिने छ भने महागरपालिका स्थित मठ, मन्दिर, मस्जिद, गुम्वा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न सर्व साधारणलाई अनुरोध गर्ने निर्णय पनि वैठकले गरेको छ ।’ 

मेयर शाक्यले पत्रकार सम्मेलनमा बोल्दै कोरना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्य प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ सै घण्टा हेल्फ डेक्स सञ्चालन गर्ने पनि जानकारी दिनुभयो ।  विभिन्न सञ्चारमाध्ययम तथा सामाजिक सन्जालहरु मार्फत कोरना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जनचेतना मुलक सन्देशहरु लगातार सम्प्रेषण गर्ने–गराउने, कोरना भाइरस रोकथाम तथा नियन्त्रण कार्य समन्वयात्मक एवं प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका अन्तर्गत रहेको नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई क्रियाशिल बनाउने जस्ता निर्णय पनि बैठकले गरेको छ । 

‘कोरना भाइरस रोकथाम तथा नियन्त्रण कार्यको आवश्यक सहयोगको लागि काठमाडौं महानगरपालिको सहकार्यमा संचालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई उच्च सतर्कतामा राखी परिचालन  गर्ने निर्णय पनि गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु अर्काे व्यवस्था नभएसम्म भोज भत्तेरमा सामेल नहुने, भोजभत्तेरको आयोजना नगर्न भनेका छौँ ।’ 

संघीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्न÷गराउन सम्वन्धित विभाग÷महाशाखा÷शाखालाई निर्देशन गर्ने, उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई कालोवजारी नियन्त्रणका लागि प्रभावकारी ढंगले परिचालन गर्ने, काठमाडौं महानगरपालिकाभित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत रुपमा पुजा बाहेक अन्य कुनै भिडभाड नगर्ने÷नगराउने निर्णय पनि महानगरले गरेको छ ।  
त्यसैगरी काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनैपनि सभा, सम्मेलन, समारोह गर्नलाई निरुत्साहित गर्ने र त्यस्ता कार्यक्रमहरुमा महानगरपालिकाले कुनैपनि सहयोग नगर्ने निर्णय पनि बैठकले गरेको छ ।  ‘कामपाबाट सञ्चालिन हेल्पडेक्स तथा सार्वजनिक स्थानहरुमा निशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने,  कामपाको कार्यालय तथा कार्यकक्षमा डिसइन्फेक्सन गर्ने पनि तयारी गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सन्देशमुलक सूचना, होर्डिङ तथा डिजिटल बोर्डबाट प्रचार तथा डिसप्ले गर्ने व्यवस्था मिलाउने छौँ ।’ 

पत्रकार सम्मेलनमा डिपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले महानगरपालिकासँग सहकार्य गरेर कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न महाशाखा तयार रहेको बताउनुभयो । ‘टेष्ट गर्ने सामान हामीसँग छ,’ उहाँले भन्नुभयो, ‘कसैलाई पनि उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने गरी काम गर्न हामी तयार छौँ ।’ उहाँले डाक्टर सुन्दरमणि दिक्षितले दिएका अभिव्यक्ति जस्तो अवस्था नरहेको भन्दै उहाँलाई पनि सकारात्मक प्रचार गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस