कोरोना भाइरसको संक्रमणबाट नवौँ सुरक्षित मुलुक नेपाल

बुधबार, ०५ चैत्र २०७६, १६ : २४
कोरोना भाइरसको संक्रमणबाट नवौँ सुरक्षित मुलुक नेपाल

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट एसियामा नवौँ सुरक्षित मुलुकमा नेपाल परेको छ । कोरोनाको संक्रमण र मृत्यु संख्याको तथ्यांक केलाउँदा अहिलेसम्म नेपाल एसियामा ९औं सुरक्षित देशका रूपमा रहेको छ।

एसियामा रहेका कूल ५१ देश तथा भूभागमध्ये हालसम्म सात देशमा कोरोना भाइरसको संक्रमित एक जना पनि भेटिएको छैन। एसियाका नेपालसहित तीन देशमा एक–एक जना संक्रमित देखिएका छन् । बाँकी अन्य ४० देश तथा भूभागमा एकभन्दा बढी कोरोना भाइरसका संक्रमित छन्।

एसियाका म्यान्मार, यमन, सिरिया, उत्तर कोरिया, ताजकिस्तान, लाओस, तुर्केमिनिस्तान र टिमोर–लेस्तेमा हालसम्म एकजना पनि कोरोना भाइरसका संक्रमित भेटिएका छैनन्। नेपाल, भुटान र बहराइनमा कोरोना भाइरसका एक–एक जना संक्रमित भेटिएका छन्। नेपालमा भेटिएका संक्रमित उपचारपछि निको भइ घर फर्किसकेका छन् भने भुटान र बहराइनमा रहेका एक–एक जना संक्रमित उपचारमा छन् ।

करिब तीन महिनाअघि पहिलोपटक चीनको उहानमा देखिएको कोरोना भाइरस अहिले विश्वका १ सय ६७ देश तथा भूभागमा फैलिएको छ। चीनमा संक्रमित र मृत्यु हुनेको संख्या उल्लेख्य रूपमा घटे पनि युरोप र अमेरिकामा संक्रमण तीव्र रूपमा फैलँदो छ।

विश्व स्वास्थ्य संगठनको कोरोना भाइरस संक्रमण सम्बन्धी पछिल्लो तथ्याङ्क हेर्ने हो भने यो भाइरस पछिल्लो समय एसियाली मुलुकमा विस्तारै फैलिरहेको छ। खासगरी खाडी र दक्षिण तथा दक्षिण–पूर्वी एसियाली मुलुकमा संक्रमितको संख्या बढ्दै गइरहेको छ।