१२ दिनको अस्पताल बसाई पछि प्रधानमन्त्रीको सक्रियता बढ्यो

पत्रपत्रिकाबाट

आइतबार, ०२ चैत्र २०७६, ०७ : ०९
१२ दिनको अस्पताल बसाई पछि प्रधानमन्त्रीको सक्रियता बढ्यो

काठमाडौं । १२ दिन लामो अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबारदेखि राजनीतिक भेटवार्ता सुरु गरेका छन्। सरकारी निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। शनिबार बिहानैबाट सुरु भएको भेटवार्तामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेतासँग भेटवार्ता गरेका हुन्। 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका ओलीले अन्य नेता तथा सल्लाहकारसँग संयुक्त भेट गरेका हुन्। शनिबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेर पहिले प्रचण्ड र त्यसपछि नेपालले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। दुवै नेताले भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार, दाहालले मिर्गौला पुनः प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीलाई बधाई दिँदै स्वास्थ्यलाभको कामना गरेका थिए। नेता नेपालले समेत ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन्।

दाहाल र नेपाल दुवै नेताले प्रधानमन्त्रीलाई समसामायिक राजनीतिक गतिविधिका बारेमा पनि जानकारी गराएका छन्। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन्। शिक्षण अस्पतालमा २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्।

उनको भने फागुन २८ गते डिस्चार्ज भएको थियो। प्रचण्डले यसअघि २० फागुनमा अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेट गरेका थिए। त्यसयता उनी अस्पताल पुगेका थिएनन्। प्रचण्ड स्वयम् सामान्य रुघाखोकीका कारण घरमै आराम गरिरहेका थिए।

शनिबार ओली र दाहालले झण्डै आधा घण्टा छलफल गरेको दाहालको सचिवालयले बताएको छ। नेपाल भने प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएकै दिन पनि अस्पताल पुगेर स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसँग जानकारी लिएर फर्केका थिए। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस