गुटैगुटको महासंघ बनेको छ नेपाली काँग्रेस

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १४ : १३
गुटैगुटको महासंघ बनेको छ नेपाली काँग्रेस

काठमाडौं । घरझगडामा रमाएर बसेको नेपाली काँग्रेस पार्टी गुटैगुटको महासंघ बनेको छ । संसद र सडकमा प्रमुख भूमिका खेल्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस आफ्नै चक्रव्यूहमा हराएको छ । 

स्थानीय सरकारमा सबैभन्दा बढी भ्रष्टाचार गर्नेमा काँग्रेसका जनप्रतिनिधि नै बढी रहेका छन् । चरम लुटपाट भइरहेको छ, सरकारी स्रोतमा । तर नेपाली कांग्रेसका तर्फबाट जितेका स्थानीय सरकारका प्रतिनिधि आफ्नो समय यही बेला हो भने जसरी लुटपाटमा लागेका छन् । 

शीर्ष नेतालाई देशको मतलब छैन, के कसरी आफ्नो गुट बलियो बनाउने भनेर लागेका छन् । घात प्रतिघातको श्रृंखला बढेको छ । काँग्रेस पार्टीभन्दा पनि गुटैगुटको महासंघ बनेको छ । काँग्रेसका कार्यकर्ताहरु यसै भन्छन् । उनीहरु राज्यलाई कसरी सबल बनाउने भन्दा पनि आफूलाई कसरी बलियो बनाउने भनेर लागेका छन् । केही निश्क्रिय बसेका छन् । कोही आफ्नै स्वार्थका लागि मात्रै परिचालित छन । राज्ययन्त्रमा केही प्रभाव राख्ने भने चोचोमोचो मिलाएर कमाऊ धन्दा गरिरहेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास छिरेर आफ्ना एकाध मान्छेलाई भागबण्डामा नियुक्ति दिलाउन लागिपरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा उनले सोही आधारमा एक महत्वपूर्ण पद हत्याउन सफल भए । केही नेता विदेश सयरमा मस्त छन् । आफूलाई युवा नेता बताउने गगन थापा, विश्वप्रकाश शर्माहरु कसरी आफू बलियो हुने मात्रै ध्याउन्नमा छन् । उनीहरु काँग्रेस मौलाउँदा चर्का कुरा गर्ने र काँग्रेस दुब्लाउँदा चुप बस्ने गरेको आरोप लागेकै छ । 

नेकपाको सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन । यो तथ्य जगजाहेर छ । काँग्रेसलाई राजनीति गर्ने यो भन्दा सुवर्ण मौका अरु थिएन । तर काँगेस नराम्ररी रसातलमा जाकिएको छ । उसलाई अब माथि उठाउने कुनै पनि अवस्था देखिएको छैन । पार्टी संगठन गर्न छाडेर काँग्रेसका नेताहरु आशीर्वाद थाप्न भन्दै भारत दौडाहामा लागेका छन् ।  

काँग्रेसका महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरू भारत भ्रमणमा लागेका छन् ।  गत बिहीबार कांग्रेसका महामन्त्री डा.कोइरालासहितका नेताहरू भारत प्रस्थान गरेका हुन् । उनीहरु भारतीय शक्तिकेन्द्रबाट आशीर्वाद थाप्न लागेका हुन् । केही दिनअघि भारतको उत्तर प्रदेशको भ्रमण पूरा गरेर स्वदेश फर्किएका महामन्त्री डा.कोइराला पुनः बनारस प्रस्थान गरेको उनको निजी सचिवालयले सगौरव जनाएको छ । 

बनारसमा रहँदा डा.कोइरालाले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कथित कार्यक्रम राखिएको छ । महामन्त्री डा.कोइरालासँगै केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का पनि भारत गएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न उनीहरूले भारत जाने बेला मास्क लगाएर गएको भन्दै सामाजिक सञ्जालमा हेरे हेर काँग्रेसको तरिका भन्दै उडाइएको छ ।
काँग्रेस पार्टीभित्र सदाबहार प्रतिपक्षी बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई १४औँ महाविधेशनमा सभापतिका लागि तयारी थालेको बताएका छन् । गत १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका पौडेलले आफूलाई भावी सभापतिका रुपमा प्रस्तुत गर्न थालेको र सोही अनुसारको प्रचार गराएका छन् । तर पौडेललाई नेता मानेर जाने अवस्थामा कोइराला परिवार छैनन् । 

कोइराला परिवारले महामन्त्री रहेको संशाक तथा केन्द्रीय सदस्य शेखर मध्ये एक जनालाई सभापतिमा उठाउने तयारी गरेको छ । सोही निर्णयका आधारमा पौडेलले सभापति पाउने सम्भावना असाध्यै कम देखिएको छ ।  पौडेलले यस पटक कोइराला परिवारलाई मिलाएर सभापति बन्ने योजनामा लागेको उनी निकटका नेताहरूले बताएका छन् । उनको सो योजना कुनै पनि हालतमा पूरा नहुने देखिएको छ । 

पौडेललाई १३औँ महाधिवेशन कोइराला परिवारले धोका दिएको चर्चा पनि चलेको थियो । तर, पौडेललाई कोइराला परिवारभन्दा पनि नेता कृष्णप्रसाद सिटौलाले असहयोग गरेका कारण सभापतिमा पराजित भएको भन्दै रोइलो गरेका थिए । पौडेल यस पटक पनि हारको श्रृंखलामा नयाँ नाम लेखाउने तयारीमा लागेको भन्दै देउवा पक्षले खिसी टिउरी गरेका छन् ।  यस पटक वरिष्ठ नेता पौडेलले १३औँ महाविधेशनका गल्तीहरूलाई दोहोरिन नदिने पक्षमा रहेको बताएका छन् । 

उनले सोही अनुसार आफूलाई तयार पारेको दावी गरिहँदा उनकै पक्षका भनिएका प्रकाशमान सिंह पनि पाएदेखि आफै सभापतिमा लड्ने इच्छा व्यक्त गरिरहेका छन् । चाक्सीबारीलाई केन्द्रमा राखेर उनले बोलाएका बैठक तथा भेला त्यसैको रहस्य भएको बताइन्छ ।  सोही कारण पौडेलले आफूलाई देश दौडाहमा सक्रिय बनाएका छन् । उनले कोइराला परिवार, प्रकाशमान सिंहलगायतका नेताहरूलाई मिलाउने पक्षमा छन् । त्यतिमात्रै होइन पौडेलले सिटौला समूहमा रहेका गगन थापा र प्रदीप पौडेल जस्ता नेताहरूलाई आफ्नो समूहमा ल्याउन सक्रिय छन् । तर उनको सक्रियताले कुनै काम नगर्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस