कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश २ सरकारको यस्तो छ तयारी ?

पत्रपत्रिकाबाट

शनिबार, ०१ चैत्र २०७६, ०७ : २०
कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश २ सरकारको यस्तो छ तयारी ?

जनकपुरधाम । कोरोना भाइरसको त्रास फैलिरहेका प्रदेश–२को प्रदेश सभामा मन्त्रीदेखि सांसदसम्म मास्क लगाएर सहभागी भएका छन् । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल तथा सांसदहरू सरस्वती चौधरी, प्रह्लाद गिरी, आशियादेवी थरुनी लगायत मास्क लगाएर बैठकमा उपस्थित भएका हुन् ।

मुख्यमन्त्रीसँगै बसेका मन्त्री सोनलले निलो रंगको सर्जिकल मास्क लगाएका छन् । अधिकांशले सर्जिकल मास्क नै लगाउँदा केही सांसदले भने कपडाको मास्क पनि लगाएका छन् । चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वभर फैलिसकेको छ । कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४ हजार ९ सय ९० पुगेको छ ।

प्रदेश २ को तयारी

कोरोना भाइरसको संक्रमणबाट बच्न प्रदेश २ सरकारले तयारी तीव्र पारेको जनाएको छ । सचेतना कार्यक्रम, आशंकित संक्रमितको पहिचान र उनीहरूलाई राख्ने ठाउँको तयारीमा सरकार लागि परेको छ ।

कोरोना रोकथामका लागि प्रदेशका आठै जिल्लासँग सीमा जोडिएका २२ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ भने प्रदेशका तीन विमानस्थल जनकपुरधाम, सिमरा र राजविराजमा हेल्थ डेस्क स्थापना गरिसकिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक नवल झाले बताए ।

प्रभावित देशबाट आएकाहरूको विवरण लिने र श्वासप्रश्वाससम्बन्धी समस्या भए नजिकको स्वास्थ्य केन्द्रमा जान स्वास्थ्यकर्मीले घर घर पुगेर सचेत गराउने अभियान सञ्चालन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी विजय झाले बताए । उनका अनुसार प्रदेशमा स्थापित हेल्थ डेस्कमा स्वास्थ्यकर्मी पर्याप्त भए पनि उपकरण अभाव छ । ‘त्यहाँ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), पर्याप्त मात्रामा इन्फ्रारेड थर्मो्मिटर (थर्मल गन), मास्कलगायत उपकरण छैनन् । कतिपय स्थानीय तहले केही उपकरण (थर्मल गनलगायत) खरिद गरेका छन् तर त्यो पर्याप्त छैन ।’ झाले भने

तीन ठाउँमा आइसोलेसन, आठ ठाउँमा क्वारेन्टाइन

प्रदेशमा कतै कोरोना संक्रमणको आशंका लागेका व्यक्ति पहिचान भए तत्काल उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा ६० शैया र जनकपुर उपमहानगरपालिकास्थित सिटी अस्पतालमा २० शैयासहितको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको निर्देशनालयका अधिकारी विजय झाले बताए ।

‘वीरगन्जको नेसनल मेडिकल कलेजमा पनि ३५ शैयासहितको आइसोलेसन वार्ड तयार हुँदै छ,’ उनले भने, ‘जनकपुरलाई केन्द्रमा राखेर आठ जिल्लाका तीन स्थानमा आइसोलेसन वार्ड स्थापना गर्ने योजना छ ।’ सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा समेत आइसोलेसन वार्ड राख्ने तयारी भइरहेको छ ।

प्रदेशका मध्य, पूर्व र पश्चिम (जनकपुर, राजविराज, वीरगन्ज) गरी तीन स्थानमा आइसोलेसन वार्ड राख्ने तयारी छ । जनकपुरमा ८० वटा शैयासहितको आइसोलेसन वार्डको तयारी भइसकेको छ,’ उनले भने, ‘वार्ड तयार भइसके पनि खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने उपकरण छैन ।’

ग्लोब्स, मास्कलगायत उपकरणको अभाव खड्किएको उनको भनाइ छ । स्वास्थ्यकर्मी कोको खट्ने, शैया कहाँ, कसरी राख्नेलगायत तयारी पूरा गरिसकेको उनले बताए । ‘जनकपुरका अन्य अस्पतालहरुमा समेत आइसोलेसन वार्डका लागि छलफल भइरहेको छ,’ उनले भने ।

यसैगरी आठै जिल्लाको राजमार्ग क्षेत्रमा क्वारेन्टाइनको तयारी भइरहेको छ । ‘लहान, बर्दिबास, ढल्केवरलगायत पथलैयासम्मका आठ स्थानमा क्वारेन्टाइन राख्न गेस्ट हाउस, सिनेमा हल, खाली भवन तयार पारिरहेका छौं,’ झाले भने । क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीको छनोट तथा प्रशिक्षणका लागि पनि तयारी सुरु गरिएको छ ।

आशंकितको रगत र स्वाब संकलन गरिने

आशंकित व्यक्तिको रगत वा स्वाब संकलनका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालालाई तयार अवस्थामा राखिएको निर्देशनालयका अधिकारी झाले जानकारी दिए । जानकी मेडिकल कलेजमा अर्को प्रयोगशालाको तयारी भइरहेको उनको भनाइ छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचेतना नियन्त्रण र उपचारजन्य व्यवस्थापनमा भरपुर सहयोग भइरहेको झाले बताए । कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वका विभिन्न देशमा फैलिएपछि मानिसमा त्रास फैलिएको छ । तर त्रास यसको औषधि होइन ।

सचेतना अपनाए यसलाई अवश्य परास्त गर्न सकिन्छ भन्ने सूचनालाई आमजनतामाझ व्यापक रूपमा फैलाउनु आवश्यक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । उनका अनुसार सीमादेखि गाउँसहर सबै ठाउँमा सूक्ष्म निगरानी बढाइएको छ ।