काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच लामो वार्तालाप भएको छ । बुधबार दिउँसो दुई बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रचण्डले एक घन्टा लामो कुराकानी गरेका थिए।
फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएका प्रचण्ड त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। राष्ट्रपति भण्डारी र प्रचण्डबीच के कुराकानी भयो भन्नेबारे औपचारिक रूपमा जानकारी आएको छैन, तर पनि सभामुख चयन, अमेरिकी सहयोग परियोजना एमसिसी र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयलाई लिएर कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएको र आफूलाई हटाउने प्रयास भइरहेको भन्दै रोष व्यक्त गरिरहेको अवस्था र प्रचण्डले प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान लिइरहेको अवस्थामा प्रचण्ड र राष्ट्रपतिको भेटवार्तालाई गम्भीर रुपमा हेरिएको छ ।
यसअघि गत मंसिर ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले राष्ट्रपतिलाई साक्षी राखेर नयाँ सम्झौता गरेका थिए।पार्टीभित्र लामो समयदेखि चलिरहेको सरकारको नेतृत्व आलोपालो गर्ने समझदारीलाई छाडेर ओलीले पूरै कार्यकाल सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी चलाउने सम्झौता उनीहरूबीच भएको थियो।
मंसिर ३ गते राष्ट्रपति कार्यालयबाट फर्किएर बालुवाटारमा सचिवालय बैठकमा दुबै अध्यक्षले सम्झौता सार्वजनिक गरेका थिए। अहिले सम्झौताको पालना नभएको भन्दै दुबै पक्षले एक अर्कालाई आरोप लगाएका छन्।
सरकारलाई सहज हुने किसिमले सभामुख छनौट गर्न नमानेको, एमसिसीको विषयमा पार्टीले अनावश्यक बखेडा झिकेको र पछिल्लो समय अर्थमन्त्री युवराज खतिवडालाई हटाएर सरकारको काम प्रभावित पार्न खोजेको प्रधानमन्त्रीको टिमको आरोप छ। प्रधानमन्त्री ओली र प्रचण्डबीच दूरी बढेपछि प्रचण्डसँग राष्ट्रपतिको भेटवार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
चुनावपछि राष्ट्रपति फेरिन्छन् त, संविधानले के भन्छ ?
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ