नेकपा र कांग्रेसले देश र जनताको हितमा काम गर्न सकेनन् : पशुपति शमशेर जबरा

बुधबार, २८ फागुन २०७६, १९ : ००
नेकपा र कांग्रेसले देश र जनताको हितमा काम गर्न सकेनन् : पशुपति शमशेर जबरा

काठमाडौं । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देश र जनताको हितमा काम गर्न नसकेको कारण राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिको खोजी भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले बताएका छन् ।

‘अब एकजुट भएको राप्रपाले सशक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिको रुपमा त्यो आवश्यकता पूरा गर्नेछ । संविधानमा रहेका हाम्रा असहमतिलाई कायम राख्दै उदार अर्थ नीतिका आधारमा आधुनिकीकरण र परिवर्तनको पक्षमा हामी क्रियाशील रहनेछौं,’ राणाले राप्रपा (संयुक्त) र राप्रपाको बुधबार सम्पन्न एकता घोषणा सभालाई सम्बोधन गर्दै बताए ।

राप्रपा (संयुक्त) र राप्रपाबीच एकीकरण गर्ने सहमतिका साथ गत शनिबार संझौता पत्रमा हस्ताक्षर गरिएको थियो । एकीकरणसम्बन्धी आधारपत्रमा, संविधानमा रहेका असहमतिहरु कायम राख्दै संविधानसँग सहकार्य गर्ने उल्लेख छ । संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रलाई राप्रपाको मूल सैद्धान्तिक आधारको रुपमा स्वीकार गरिएको छ । आगामी महाधिवेशनसम्म तीन अध्यक्ष क्रमशः पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा रहने छन् ।

घोषणा सभालाई सम्बोधनकै क्रममा राणाले पार्टी भित्रको गुटगत स्वार्थ पूर्ति गर्न नेकपाले संविधानको दुरुपयोग गर्ने चेष्टा गरेको भन्दै आपत्ति जनाए । गाउँ, गाउँ सिंहदरबार पु¥याउँछु भन्ने नेकपाले गाउँ, गाउँ भ्रष्टाचार पु¥याएको बताए ।

‘गुट, उपगुटको झगडाका कारण नेकपाले एमसिसीलाई प्रयोग गर्दै तह, तहमा अमेरिकालाई अनावश्यक रुपमा चिढ्याउने कार्य गरेको छ । यसबाट पनि थाहा हुन्छ, हाम्रो कुटनीति, परराष्ट्र नीति दिशाहिन र अन्योलमा छ,’ राणाले भने ।

राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गणतन्त्रका नाममा लुटतन्त्र मौलाएको र समय प्रतिगमनउन्मुख रहेको बताए । बेलायत, जापान, नर्वे, थाइल्याण्ड जस्ता देशमा अहिले राजसंस्था सहितको प्रजातन्त्र कायम रहेको बताउँदै उनले नेपालमा अहिले पनि राजसंस्थाको आवश्यकता रहेको बताए ।

“नेपाल र नेपालीलाई एकतामा बाँध्ने राजसंस्थाको अहिले पनि आवश्यकता छ । हामी यही मूल्यमान्यता लिएर अघि बढ्ने छौं ।”

लोहनीले नयाँ नेपालको चर्चा हराएको उल्लेख गर्दै लोकतन्त्र र अग्रगमनका नारा दिने पात्रहरु नै प्रतिगमनतर्फ अग्रसर भएको बताए ।

‘देशमा आर्थिक प्रतिगमन र लुटतन्त्र मौलाएको छ । जनताबाट चुनिएका व्यक्ति र सरकार नै मुलुकलाई बर्बाद पार्न लागीपरेका छन् । प्रेस स्वतन्त्रता, अभिव्यक्तिको अधिकार कटौती गर्ने हिसाबले काम भएको छ । खलेआम रुपमा लुटतन्त्र हावी भएको छ । सत्तारुढ दल लोकतन्त्र, मानव अधिकारको विरुद्धमा एकपछि अर्को गल्ती गर्दैछ, प्रतिपक्षी दल चुप लागेर बसेको छ, अर्थात् देश प्रतिगमनको दिशामा अघि बढेको छ,’ लोहनीले भने ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देशमा राप्रपा जस्तो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको औंल्याउँदै अब राप्रपा कहिले पनि फुट्न नहुने बताए । ‘पार्टीको टुटफुटबा कार्यकर्ताले अब दुख पाउनु हुन्न,’ चन्दले भने ।

‘अलग भएको पिडा हामी सबैमा छ । तितो यथार्थ भोगेका हामी अब कहिले छुट्न हुन्न । राप्रपा अब कहिले फुट्नु हुन्न,’ राप्रपाका संस्थापक अध्यक्षसमेत रहेको चन्दले भने ।

अध्यक्ष कमल थापाले विगतका गल्तीबाट पाठ सिक्दै पार्टी नफुटाउने प्रण गरे । निजी स्वार्थभन्दा माथि देश र पार्टी रहनुपर्ने बताउँदै थापाले कार्यकर्ताको दवाबमा एकता संभव भएको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस