सर्वदलीय बैठकको निर्णय : कोरोना भाइरस नेपालमा फैलन नदिन सम्पूर्ण राष्ट्रिय शक्ति लगाइने

बुधबार, २८ फागुन २०७६, १८ : ३१
सर्वदलीय बैठकको निर्णय : कोरोना भाइरस नेपालमा फैलन नदिन सम्पूर्ण राष्ट्रिय शक्ति लगाइने

काठमाडौं । बुधबार सिंहदरबारमा भएको सर्वदलीय बैठकले सम्पूर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने निष्कर्ष निकालेको छ । 

कोरोना संक्रमण भएका देशबाट आवतजावतमा प्रवेशमा रोक लगाउने, कोही आइहाले तिनको व्यवस्थापन कसरी गर्ने ?यसबारे सचेतना कसरी अपनाउने ? त्यति गर्दागर्दै पनि कोरोना संक्रमण देखिए उनीहरुलाई राख्ने क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्ने ? भन्ने विषयमा छलफल भएको संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले छलफलपछि जानकारी दिए । 
बैठकमा कोरोना भाइरस संक्रमण नेपालमा फैलन नदिन सबै राजनीतिक दलहरु एकजुट हुने निर्णय पनि भएको छ ।  

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गरेका थिए । 

बैठकमा सहभागी प्रतिनिधिहरुले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सत्तारुढ दल बाहेकले सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सबै मन्त्रालयलको समन्वयमा इन्टिग्रेटेड ढंगले अगाडि बढ्ने सरकारको प्रयासलाई सकारात्मक लिँदै अझ पर्याप्त पूर्वाधारको विकासमा जोड दिन सुझाव दिएका थिए ।