प्रधानमन्त्रीको उपचारपछि शिक्षण अस्पतालमा प्रत्यारोपणका बिरामी बढ्ने

रासस

मंगलबार, २७ फागुन २०७६, २१ : २७
प्रधानमन्त्रीको उपचारपछि शिक्षण अस्पतालमा प्रत्यारोपणका बिरामी बढ्ने

फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गाैला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा जटिल प्रकारका शल्यक्रियाका बिरामी बढ्ने देखिएको छ ।

स्वदेशी अस्पताल र चिकित्सकप्रति भरोसा र विश्वास गरी मुलुकको कार्यकारी प्रमुखले दोस्रो पटकको सफल मिर्गाैला प्रत्यारोपण गराएपछि स्वदेश र विदेशका उच्चपदस्थबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति चासो र बधाई दिइएको छ भने त्रिवि शिक्षण अस्पतालको छवि माथि उठेको छ । प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेर सो अस्पतालमा हरेक दिन विभिन्न नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन डा जगदिश अग्रवालले भन्नुभयो, “प्रधानमन्त्रीको उपचारका कारण हाम्रो मनोबल र हामीप्रतिको विश्वास बढेको छ  र यसका कारण जटिल प्रकारका यस्ता शल्यक्रियाका लागि हाम्रोमा बिरामीको चाप अवश्य बढ्नेछ । त्यो जिम्मेवारी हामीले पूरा गर्नुपर्नेछ ।” डा अग्रवालले सरकारसँगको समन्वय र सहयोग लिने सन्दर्भमा पनि प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणपछि एक प्रकारको आत्मबल बढेको पत्रकारलाई बताउनुभयो । 

सो अस्पतालले १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण आरम्भ गरेको हो । प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणका एक शल्यचिकित्सक डा प्रेमराज ज्ञवालीले सो अस्पतालमा प्रधानमन्त्रीको मिर्गाैला शल्यक्रियाको अघिल्लो साता एकजना बिरामीको प्रत्यारोपण गरिएको र यही फागुन २८ गतेका लागि पनि दुई बिरामीको मिर्गाैला प्रत्यारोपण गरिने जनाउनुभयो । उहाँले बिरामीका हिसाबले प्रधानमन्त्री र आम मानिसमा खास फरक नभए पनि प्रधानमन्त्रीको उपचारपछि आफूहरुको जिम्मेवारी र आत्मविश्वासमा थप वृद्धि भएको महसुस गरेको जनाउनुभयो । 

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले नेपाली चिकित्सक र अस्पतालप्रति भरोसा गरी उपचारको अवसर दिनुभएकामा आफूहरु गौरवान्वित भएको बताउँदै प्रधानमन्त्री ओली र भाञ्जी समीक्षा सङ्ग्रौलाको कानूनी प्रक्रियागत रुपमा नाता प्रमाण तथा चिकित्सकीय जाँचको प्रतिवेदन मिलेकाले प्रत्यारोपणको निधो गरिएको स्पष्ट गर्नुभयो । 

केही दिनअघि वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गाैला प्रत्यारोपण सफल भएको उल्लेख गर्दै प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोण गर्न पाउनु नेपाली चिकित्सकका लागि विशेषज्ञता प्रदर्शन गर्ने उल्लेखनीय अवसर भएको बताउनुभएको थियो । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण भएको थियो । उहाँलाई उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौलाले मिर्गाैला दान गर्नुभएको थियो । डा शाहले प्रधानमन्त्री पूर्ण क्रियाशील भएर काम गर्न सक्ने हुन छ महिनादेखि एक वर्षसम्म लाग्ने र त्यसपछि उहाँले सक्रिय भएर काम गर्न सक्ने जनाउँदै अस्पतालबाट फिर्ता भएपछि औषधिको डोज बढी हुनेभएकाले सङ्क्रमणको सम्भावना हुने हुँदा प्रधानमन्त्री ओलीले एक महिनासम्म विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आफू चाँडै घर फर्कन चाहेको जनाए पनि उहाँको परिवारले केही दिन निवासमा तयारी गर्नुपर्ने भएकाले अस्पतालमै राख्न आग्रह गरेका कारण केही दिन अस्पतालमा राखिने डा शाहले बताउनुभयो । 

“सार्वजनिकरुपमा गएर भीडभाडमा गएर काम गर्न सल्लाह दिँदैनौँ । आफ्नो सचिवालयमा रहेर दैनिक नियमित काम गर्न सक्नुहुन्छ । रुघाखोकी लागेका मान्छेहरुको नजिक जानु हुँदैन”, डा शाहले भन्नुभयो, “प्रधानमन्त्रीको मिर्गाैलाका साथै उहाँको शरीरमा सबै महत्वपूर्ण अङ्गका बारेमा परीक्षण गरेका छौँ । शल्यक्रिया गरेको घाउ दुख्छ त्यसैले छिटो बाहिर हिँड्नु हुँदैन । तङ्ग्रिनका लागि केही समय लाग्छ । उहाँको अरु भाइटल ल्याबहरु राम्रो अवस्थामा छ ।”

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वदेशी अस्पताल र स्वदेशी चिकित्सकको कर्तव्यनिष्टताका कारण नेपाली चिकित्सक र अस्पतालप्रति जटिल प्रकारका शल्यचिकित्साका लागि पनि भरोसा वृद्धि भएको बताउनुभयो । प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण र उपचारमा संलग्न चिकित्सक र नर्सिङ सेवाका कर्मचारी र सञ्चारकर्मीबीचको आजको प्रश्नोत्तरमा प्रधानमन्त्री ओली र उहाँका  मिर्गाैलादाता सङ्ग्रौलाका स्वास्थ्यस्थितिका विभिन्न पक्षबारे जवाफ दिइएको थियो । नेपालका प्रधानमन्त्रीको यस प्रकारको उपचार र आफूहरुले आम चासो प्राप्त गरेको यो पहिलो अवसर भएको सो अवसरमा चिकित्सकले जनाएका थिए ।