ईच्छाकामनामा विद्यार्थीको मुटु तथा मिर्गौला जाँच

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०७६, ११ : २७
ईच्छाकामनामा विद्यार्थीको मुटु तथा मिर्गौला जाँच

चितवन । ईच्छाकामना गाउंँपालिकामा रहेको सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटार र जनप्रिय माध्यमिक विद्यालय काउलेमा अध्ययनरत १ हजार ५० जना विद्यार्थीको मुटु तथा तथा मिर्गौलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

ईच्छाकामना गाउंँपालिकाको आयोजना र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि. चितवनको संयोजनमा शिविर सम्पन्न भएको हो । शिविरमा १५ जना विद्यार्थीमा मुटुको बाथरोग, १ जनामा जन्मजात मुटुमा प्वाल परेको र अर्का १ जनामा भल्ब लिकेज देखिएको मुटुरोग बिशेषज्ञ डाक्टर शंकर लौडारीले जानकारी दिए । 

शिविरमा संलग्न अर्का डाक्टर केशव बुढाथोकीले विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्षका बालबालिकामा मुटुको भल्ब साँघुरो हुने, धड्कन अनियमित हुने लक्षण देखिएको बताए । अधिकांश विद्यार्थीको मिर्गौलाको अवस्था सामान्य रहेको मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङले बताए । 

शिविरमा मुटुको ईकोकार्डियोग्राफी, रगत जाँचतर्फ सुगर, क्रिटिनाईन, पिसाब जाँचमा एल्बोमिन र प्रोटिन जाँचिएको थियो । शिविरमा उपचारका लागि आएका विद्यार्थीलाई चिकित्सकले मुटुरोग र मिर्गौलारोगबारे सचेतना दिएका थिए । 

ईच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले चितवनको विकट गाउंँका विद्यार्थीलाई दिइएको स्वास्थ्य परीक्षण सेवाबाट लक्षित वर्गलाई फाइदा भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् । शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बासुदेव लम्साल, स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस