एमसीसी बारे नेकपामा निर्णय लिन अझै विलम्व हुने

अमेरिकी राजदुतसँग इन्डोप्यासेफिक रणनीति होइन भन्ने लिखित प्रतिवद्धता मागिएको खुलासा

मंगलबार, २७ फागुन २०७६, ०८ : ३३
एमसीसी बारे नेकपामा निर्णय लिन अझै विलम्व हुने

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता कार्यान्वयनमा लाने/नलानेमा सत्तारुढ दल नेकपालाई निर्णय लिन विलम्व लाग्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली मृगौला पुनः प्रत्यारोपणका लागि अस्पतालमा रहेको र उनीसँगै कतिपय विषय जोडिन पुगेकाले ओलीसँगको छलफल बिना नेकपाले यो विषयमा कुनै औपचारिक निर्णय लिन नसक्ने देखिएकोले एमसीसी सम्झौता सदनबाट पारित गर्ने विषयमा विलम्व हुने देखिएको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, यो विषयमा प्रधानमन्त्रीसँगको छलफलपछि मात्र निर्णयमा पुग्नुपर्ने भएकाले निर्णयमा विलम्व हुन सक्छ ।

प्रधानमन्त्री ओली केही दिन अझै अस्पतालको बसाईमा रहने छन् । त्यसपछि पनि उनलाई भेटघाट र आरामका लागि चिकित्सकहरुले सहज अनुमति दिने छैनन । संक्रमणबाट जोगिनका लागि पनि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई डिश्चार्ज गरिहाले पनि भेटघाटमा प्रतिबन्ध लगाउनेछन्, केही समय ।

त्यसकारण पनि एमसीसी सम्झौताको निर्णय लिन नेकपामा सहज छैन । यो विषयमा निर्णय लिनुपूर्व नेकपाले अध्ययन कार्यादल बनाएको छ । १० दिनको समयावधि दिएर पार्टी केन्द्रीय समितिले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यद्वय भीम रावल र परराष्टमन्त्री समेत रहेका प्रदीप ज्ञवाली रहेको अध्ययन कार्यदल नेकपाले बनाएको थियो । तर ३८ दिन पुगिसक्दा पनि यो कार्यादलले आफ्नो पूर्ण प्रतिवेदन बुझाईसकेको छैन ।

१९ दिनका दिन अध्यक्षद्वयलाई सामान्य मस्यौदाका खाका बुझाएपनि पूर्ण प्रतिवेदन अझै बुझाईनसकेको अध्ययन कार्यादलका एक सदस्यले बताए ।

नेकपाको केन्द्रीय समिति, स्थायी समिति र सचिवालय र स्वंम अध्ययन कार्यदलमा यो विषयमा प्रष्टता नखोजी र परिमार्जन नगरी कार्यान्वयन गर्न नहुने वाहुल्यता छ ।

प्रधानमन्त्री ओली सदनबाट यसलाई पारित गराउनु पर्ने पक्षमा निरन्तर वकालतमा लागेपनि उनले भने जसरी पार्टीले सजिलै एमसीसी पारित गराउने पक्षमा निर्णय लिईदिने सम्भावना नेकपामा न्यून छ ।
 
खासगरी एमसीसी सम्झौता अमेरिकको इन्डो प्यासेफिक रणनीति अन्तर्गतको हो÷होइन पहिले अमेरिकाले प्रष्ट पारेपछि मात्र यस विषयमा निर्णयमा पुग्नुपर्ने जनमत नेकपामा वढी छ ।

अमेरिकाको इन्डो प्यासेफिक रणनीति अन्तर्गतको परियोजना भए नेकपाले यसलाई अश्विकार गर्ने वताउँदै आएको छ ।

वरिष्ठ नेता माधव नेपालले यस विषयमा स्पष्ट पार्न अमेरिकी सरकारसँग लिखित प्रतिवद्धता नै माग गरिएको खुलासा गरेका छन् ।

अमेरिकी राजदुत ¥यान्डी बेरीसँगको भेटमा आफूले एमसीसी इन्डो प्यासेफिक स्टाटेजी अन्र्तगतको परियोजना होइन भन्ने लिखित प्रतिवद्धता आफूहरुसँग गर्न आग्रह गरेको एक भारतीय पत्रिकालाई दिएको अन्र्तवार्तामा नेपालले खुलासा गरेका छन् । 

तर त्यस्तो पत्र अमेरिकी दुतावास र सरकारबाट अझै आफुहरुले प्राप्त गर्न नसकेको नेपालले बताएका छन् ।

‘अमेरिकाको इन्डो प्यासिफिक रणनीतिलाई समर्थन गर्न सकिन्न । हामी त्यसमा स्पष्ट छौँ । त्यस्ता कुनै कुरा एमसीसीसँग जोडिएका छन् भने हामी एमसीसी पनि स्वीकार्न सक्दैनौँ,’ नेपालले भारतीय पत्रिका फन्ट लाइन म्यागेजिनलाई दिएको अन्र्तवार्तामा भनेका छन्,–‘यो कुरा स्पष्ट पार्न अमेरिकी राजदूत म कहाँ आउनुभएको थियो । मैले लिखित प्रतिबद्धता पनि मागेको थिएँ । जुन अहिलेसम्म आएको छैन ।’

प्रधानमन्त्री ओलीको अस्पताल बसाई र संक्रमणबाट जोगिन थप आराम गर्नुपर्ने भएकाले पनि यस विषयमा नेकपाले निर्णय लिन अझै समय लाग्नेछ । अमेरिकी सरकारले १६ असारबाट यो परियोजना कार्यान्वयनमा लौजानुपर्ने भन्दै यसै अधिवेशनबाट परियोजना कार्यान्वयनमा लैजाने प्रस्ताव सदनबाट पारित गर्न दबाब बढाइरहेको छ ।
 
तर नेकपाले निर्णय नलिएसम्म यो विषयमा सदनमा प्रस्ताव समेत जाने देखिंदैन ।