कतार हिँडेका ४० कामदार फिर्ता

मंगलबार, २७ फागुन २०७६, ०७ : ४३
कतार हिँडेका ४० कामदार फिर्ता

- दीपक रिजाल
काठमाडौं । विश्वभर आतंक मच्चाउँदै आएको कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलुकका मानिसमाथि प्रतिबन्ध लगाएको छ। कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा अस्थायीरूपमा प्रतिबन्ध लगाएको हो।

नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रूपमा रहेको कतारले नेपालीहरूलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन्। कामका लागि कतार हिँडेका उनीहरूलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

शर्माले भन्नुभयो– ‘मसहित झन्डै ४० जनाको हाराहारीमा रहेका कामदारलाई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो।’ सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ।

हरेक दिन तीनवटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले नै नेपालीसहित १४ देशका नागरिकमाथिको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना रहेको छ। कतारले प्रतिबन्ध लगाएका अन्य मुलुकमा कोरोनाको संक्रमण देखिए पनि नेपालमा भने अहिलेसम्म देखिएको छैन।

उसले छिमेकी मुलुक भारत र चीनमा उक्त संक्रमणको अवस्था भयावह भएका कारण नेपाललाई पनि प्रतिबन्ध लगाएको हुन सक्ने आशंका गरिएको छ।

त्यसै गरी साउदी अरबले पनि छिमेकी मुलुकसहित ९ मुलुकका नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएपछि नेपालबाट साउदी अरब जाने नेपालीहरू प्रभावित हुने भएको छ। प्रतिबन्ध नलगाएका देशहरूबाट साउदी प्रवेश गर्ने विदेशी नागरिकका लागि तीनवटा विमानस्थल मात्रै प्रयोग गर्न दिने निर्णय गरेको हो।

यूएई, बहराइन र कुवेत हुँदै साउदी जाने यात्रुले भने तीनवटा विमानस्थल मात्रै प्रयोग गर्न पाउनेछन्। उनीहरूलाई किङ खालिन इन्टरनेसनल एयरपोर्ट, किङ अब्दुलाजिज इन्टरनेसनल एयरपोर्ट र किङ फहाद इन्टरनेसनल एयरपोर्ट मात्रै प्रयोग गर्न दिने निर्णय गरेको हो। - नेपाल समाचारपत्र