संघीयतामा रासस : प्रदेश संरचनाअनुसार समाचार बुलेटिन बनाउन सुझाव

शुक्रबार, ०४ फागुन २०७४, १९ : ३६
संघीयतामा रासस :  प्रदेश संरचनाअनुसार समाचार बुलेटिन बनाउन सुझाव

चितवन । राष्ट्रिय समाचार समिति (रासस)ले प्रदेश संरचनाअनुसार समाचार बुलेटिन ल्याउनुपर्नेमा चितवनका पत्रकार तथा विभिन्न सञ्चार माध्यमका सम्पादकले सुझाव दिएका छन् ।

राससको ५७ औँ वार्षिकोत्सवका अवसरमा प्रदेश नं ३ अन्तर्गत रासस भरतपुर कार्यालय चितवनद्वारा आज आयोजित ‘संघीयतामा रासस’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले सो सुझाव दिएका हुन् ।

“राससले तत्कालै प्रदेश बुलेटिन ल्याउनुपर्छ,” नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले भन्नुभयो— “रासस सरकारमुखी भयो भन्ने प्रश्न उठ्ने गरेको छ, यसलाई सुधार गरी सरकारी नियन्त्रणभन्दा बाहिर ल्याउनुपर्ने र समाचार सेवा निःशुल्क बनाउनुपर्छ ।”

प्रेस सेन्टर नेपालका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले विशेष ऐनमार्फत रासस सञ्चालन भए प्रभावकारी हुने बताउँदै राससको समाचार सेवालाई अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले राससले इतिहासलाई ज्यूँदो राख्ने काम गरेकामा प्रशंसा व्यक्तगर्दै राससलाई स्वायत्त समाचार समितिका रुपमा विकास गर्नु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । संसद्प्रति जवाफदेही हुने गरी पुनःसंरचना गरे यसको प्रभावकारिता अझ बढ्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले राससले समाचारका विषयवस्तुमा परिमार्जन गर्न सुझाव दिदैं आर्थिक समृद्धिका विषयवस्तुलाई राससले विशेष प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो ।

महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्याल र प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपालले राजनीतिभन्दा जनताका समाचारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै संघीयता र समृद्धिलाई मलजल हुने गरी समाचार सम्प्रेशन गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रेस सेन्टर नेपाल चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीले छिटो समाचार दिने अभ्यासको थालनी राससले गर्नुपर्ने बताउनुभयो ।

पत्रकारिताका प्राध्यापक मधुसूदन दुवाडीले तुलनात्मक रुपमा राससको समाचार ढिलो हुने गरेको भन्दै आत्मनिर्भर हुन अनलाइनले झैँ आफैँले विज्ञापन हाल्ने गरी राससलाई परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो ।

रासस भरतपुरका कार्यालय प्रमुख नारायण अधिकारीले यहाँ आएका सुझावलाई अडियोसहित लिपिबद्ध रुपमा केन्द्रीय कार्यालयमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै सुझाव कार्यान्वयन हुने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा राससका पूर्व पत्रकार गणशेखर शर्मा, पत्रकारहरु सूर्यप्रकाश कँडेल, तीलकराम रिमाल, नवराज ढकाल, विनोदबाबु रिजाल, दीपेन्द्र अधिकारी, सूर्यप्रसाद अधिकारी, राजु सापकोटा, प्रकाश सिग्देल, राजु थापा, सन्तोष देवकोटालगायतले राससले प्रदेशस्तरबाटै बुलेटिन ल्याउनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले राससले खोजी समाचारलाई प्राथमिकता दिनुपर्ने, भिडियो सेवा उपलब्ध गराउनुपर्ने, तस्वीर र अडियो सेवालाई चुस्त पार्नुपर्ने तथा समयमै समाचार सम्प्रेषण गर्नुपर्नेमा पनि जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस