कहिले हुन्छ प्रधानमन्त्री ओलीको डिस्चार्ज ?

सोमबार, २६ फागुन २०७६, १४ : २१
कहिले हुन्छ प्रधानमन्त्री ओलीको डिस्चार्ज ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनभित्र डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन् । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा सकारात्मक सुधार आइरहेकाले आउँदो बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने बताए । 

मिर्गौला प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सुझावका आधारमा डिस्चार्जका बारेमा निर्णय गरिने उनले बताए । अप्रेशन भएको बढीमा १० दिनभित्र उहाँलाई बालुवाटार फर्काउन सकिन्छ कि भन्ने लागेको डा खड्गा बताउँछन् ।

प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका हुन् भने त्यसको दुई दिनपछि अर्थात फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

प्रधानमन्त्री ओलीको यो प्रत्यारोपण दोस्रो हो । यससँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन् । 

चिकित्सकहरूका अनुसार प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गरेपछि उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको छ । 

यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।