देवघाटमा सवारी चेकजाँचमा कडाइ, एक महिनामा उठ्यो ५७ हजार राजस्व

सोमबार, २६ फागुन २०७६, १३ : १५
देवघाटमा सवारी चेकजाँचमा कडाइ, एक महिनामा उठ्यो ५७ हजार राजस्व

तनहुँ । देवघाट गाउँपालिकाको विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिएको छ । फागुन १ गते देखि फागुन २६ गतेसम्म ७६ वटा सवारी साधन कारवाही गरी ५७ हजार बराबरको राजस्व संकलन गरिएको देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज उज्वलराज चिलवालले जानकारी दिनुभयो ।

हाल गाउँपालिकाका विभिन्न स्थानहरू देवपुर चोक, टाउन चोक, पुलको मुख र घिनटार चोकमा दासढुङ्गा पुल लगायत विभिन्न स्थानमा चेकजाँच भइ आएको छ । 

इन्चार्ज चिलवालका अनुसार ७६ वटा सवारी साधनमा बस १ वटा, ट्रक १० वटा, जिपकार १४ वटा, ट्रयाक्टर १२ वटा र अन्य ५ वटा रहेका छन् ।

यस्तै सो अवधिमा १ सय भन्दा बढी सवारी साधनलाई सम्झाई बुझाई गरी पठाएको उहाँले जानकारी दिनु भयो ।
उहाँले सवारी साधन चालकहरुलाई विभिन्न तरिकाले पहिला सम्झाई बुझाई गर्दा पनि अलि अटेर गर्न थाले पछि चेकजाँचलाई अलि कडाइ गर्नको लागि दमौलीबाट नै ट्राफिक प्रहरी संघ समन्वय गरी देवघाट ईलाका प्रहरी कार्यालयमा एक जना ट्राफिकको माग गरी चेकजाँचलाई कडाइ गरेको बताउनु भयो ।

देवघाट ईलाका प्रहरी कार्यालयले पहिलेदेखि नै चेकजाँच गर्ने गरेको र कारबाहीमा परेका सवारी साधनलाई चिट काट्ने अधिकार जनपथ प्रहरीलाई नहुँदा पहिला चिट कट्नको लागि कहिले आपटारी र कहिले जुगेडि पठाउनु पर्ने भएकोले पनि अहिले यो समस्य  नभएको र चिट काट्न पनि सहज भएको इन्चार्ज चिलवालले बताउनु भयो ।
उहाँले सवारी साधनलाई कारबाही गरेर मात्र राजस्व संकलन गर्न उद्देश्य नभई जो कोही कुनै पनि तरिकाले दुर्घटनामा नपरुन भनेर सबैलाई सजग गर्ने उद्देश्यका साथ चेकजाँच कडाइ गरिएको बताउनु भयो ।

धार्मिक स्थान भनेर देश तथा विदेशमा परिचित देवघाटधाममा पछिल्लो समय सवारी साधन वृद्धि सँगै बढ्दो सहरीकरणले दिन प्रति दिन जनघनत्वो वृद्धि भएको छ ।

यसरी प्रतिकुल अवस्थामा हरेक कुराको वृद्धि भइ रहँदा सवारी साधनको चाप पनि बढिरहेको हुनाले कुनै पनि चोरिचकरी अप्रिय घटना नहोस् भनेर देवघाट ईलाका प्रहरी कार्यालयले ट्राफिक सचेतना मुलक कार्यक्रम तथा प्रहरी साझेदारी कार्यक्रम पनि पहिला नै संचालन गरी जनमानसमा ट्राफिक नियम सम्बन्धि जानकारी पनि दिइ सकेको र फेरि पनि विभिन्न संघ सस्था सँग समन्वय गरी देवघाट ईलाका प्रहरी कार्यालयको आयोजनामा छिट्टै ट्राफिक सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने इन्चार्ज चिलवालले बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस