प्रधानमन्त्री पत्नीको चिकित्सकहरुलाई आग्रह

अहिले नै उहाँलाई डिस्चार्ज नगर्नुहोस्, केही दिन अस्पतालमै राख्नुहोस्

सोमबार, २६ फागुन २०७६, ०९ : १४
प्रधानमन्त्री पत्नीको चिकित्सकहरुलाई आग्रह

काठमाडौं । सामान्यतयाः उमेर भएका र अन्य रोगब्याधले आक्रमण नगरेका र उपचारपछि पर्याप्त आराम गर्न सक्ने मृगौला प्रत्यारोपण गरेका बिरामीलाई सबै रिपोर्ट सन्तोषजनक देखिए अस्पतालले ५ दिनमा डिस्चार्ज गर्ने गर्दै आईरहेको थियो ।

प्रधानमन्त्री ओली पनि अहिले मृगौला पूनः प्रत्यारोपण गरेर शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर स्वास्थ्यलाभ गरिरहेका छन् । चिकित्सकहरुका दैनिक बुलेटिनका अनुसार, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार छ ।  नियमति सन्तुलित आहार, नियमित हिड्डुल गराउने काम चिकित्सकहरुले गराईरहेका छन् । प्रधानमन्त्रीको शारिरिक सूचांकाकहरु पनि सामान्य रहेको चिकित्सकहरुको भनाई छ । 

आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको भन्दै प्रधानमन्त्री ओलीले शनिबार चिकित्सकहरुलाई सोमबार (आज) आफुलाई डिस्चार्जको तयारी गर्न आग्रह गरेका थिए । ‘मलाई सोमबार डिस्चार्जको तयारी गर्नुहोस, म फिट हुँदै गईसकेको छु,’ शनिबार प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग भनेका थिए । तर अस्पतालले भने प्रधानमन्त्रीले डिस्चार्जका लागि मागेको आजको समयमा डिस्चार्ज नगर्ने बताईसकेका छन् । 

प्रधानमन्त्री ओलीका पत्नी राधिका शाक्यले प्रधानमन्त्रीलाई तत्कालै डिस्चार्ज नगर्न चिकित्सकहरुसँग आग्रह गरेकी चिकित्सकहरुले बताएका छन् । ‘प्रधानमन्त्रीको पत्नीले अहिले केही दिन अझैं अस्पतालमा राख्न आग्रह गर्नुभएको छ, उहाँलाई छिटो डिस्चार्ज नगरी केही दिन अस्पतालमै राखेर आरामको ब्यवस्था मिलाउन भन्नुभएको छ,’ एक चिकित्सकले भने । 

ओलीका निजी चिकित्सक डा. दिब्या सिंहले पनि प्रधानमन्त्रीलाई पर्याप्त आराम गर्ने समय मिलेमा अस्पतालबाट डिस्चार्ज गरेपनि हुने तर डिस्चार्ज गरेर बालुवाटार पठाउने बित्तिकै भेटघाट शुरु हुन सक्ने ठानी अहिले केही दिन अझै अस्पतालमै राखेर उपचार गरिन लागेको बताइन् ।

‘उहाँलाई एक साता जति अझै अस्पतालमै राखेर हामी निगरानीमा राख्न चाहन्छौं,’ डा. सिंहले भनिन् । प्रधानमन्त्री ओलीलाई उपचार पछि अहिले सबैभन्दा जोखिम संक्रमणबाट बचाउनु हो । प्रधानमन्त्री ओली बालुवाटार फर्केपनि उनले भेटघाट लगायतका काम गर्न पाउने छैनन् ।

उनले कम्तीमा दुई तिन महिना पूर्ण आराम गर्नु पर्ने चिकित्सकहरुको सुझाव छ ।  त्यही भएर पनि चिकित्सक र प्रधानमन्त्री पत्नीले सकभर केही समय प्रधानमन्त्री ओलीलाई अस्पतालमै राख्न चाहिरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस