टुकुचाका ‘घाँसे दिदी...’

आइतबार, २५ फागुन २०७६, १८ : ३९
टुकुचाका ‘घाँसे दिदी...’

– नारायण ढङ्गाना 
काठमाडौँ । भर्खरै कालोपत्रे भएकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वार अगाडिका चिल्ला सडकमा आज मध्याह्न गाडी हुइँकिँदै थियो । सवारी पातलो भए पनि सदाझैँ सडकपेटीमा बटुवाको आवतजावत बाक्लै थियो । त्यही भीडमा घाँसको भारी बोकेका दुई महिला सिंहदरबारको मूलगेट हुँदै रामशाहपथबाट गन्तव्य सोझ्याइरहेका थिए ।

घाँसले अनुहार छोपिएको थियो । पाइलो सार्दा लथ्रकलथ्रक हल्लाएको घाँसका त्यान्द्राको छिद्रबाट बेलाबेलामा मलिन अनुहार देखिन्थ्यो । शनिबारको वर्षाले मौसम चिसो थियो । बटुवाले ज्याकेट छाडेका थिएनन्, तर एक हातले नाम्लो समाउने र अर्काे हातले पसिना पुछ्ने क्रम जारी रहन्थ्यो । सबै आआफ्नै गन्तव्यको हतारोले होला राजधानीको मुख्य मार्गमा घाँसको भारी बोकेको देख्नेमा पनि चासो थिएन । बटुवाको साथ बाटो छिचोल्दै अघि बढ्दै थिए । 

आज ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखमा विश्वभर महिला श्रमिक दिवस मनाइन्छ । त्यसैले संवाददातालाई ठूलो श्रमका साथबीच सडकमा घाँसको भारी बोक्दै हिँडेका महिलाको गन्तव्य थाहा पाउन मन लाग्यो । त्रिपुरेश्वर जाने कार्यक्रम बीचैमा रोकेर महिलाको अवस्था पत्ता लगाउने सोच आयो । भद्रकालीबाट ‘यु टर्न’ हानेर फर्किंदा महिला महानगरीय ट्राफिक प्रहरी महाशाखाको मूलद्वार कटिसकेका थिए । पद्मोदयमोड पुग्दा केही तस्वीर कैद भयो । उहाँहरुको गन्तव्य भृकुटीमण्डपतर्फ मोडियो । अलि अगाडि बढेका ती पाइला फेरि टुकुचाको खसी बजार मोडियो ।

बजारमा सयौँ खसी, बोका र भेडा थिए । क्रेता विक्रेताबीच मोलतोल चल्दै थियो । कोही खसी डो¥याउँदै त कोही गफिँदै थिए । खसीको म्या..म्या...को आवाज लगातार सुनिन्थ्यो । दुई महिलाले ल्याएको घाँस देखेपछि व्यापारी एकै ठाउँमा सोहोरिए । “दिदी मलाई एक मुुठा घाँस”, एउटाले भन्यो । “मलाई पनि एक मुठा है”, अर्काे स्टलबाट आवाज आयो । घाँसको अभाव भएको व्यापारीको भीडमा भारी बिसाउन नपाउँदै घाँस हारालुछ भयो । भोकाएका जनावरले खानेकुरा खोसेझैँ व्यापारीले तँछाडमछाड गरे । एक मिनेटमै घाँस सकियो । व्यापारीले आआफ्नो खोरमा रहेका खसी बोकालाई घाँस हाले । भोकाएका खसी बोका स्वाद मानीमानी घाँस खान थाले । 

खोसाखोस हुँदा कसैले घाँसै पाएनन् । घाँस ककसले लगे महिलालाई ठम्याउनै गाह्रो भयो । “लौन कति मुठा भयो ?, ओइ गोफ्ले कति मुठा लगिस् ?” महिलाले व्यापारीसँग सोध्दै थिए । 

सोमबारको होलीले आज टुकुचारमा खसी किन्नेको भीड थियो । त्यसकारण आज यहाँ घाँसको अभाव थियो । यहाँ दैनिक ८०, ९०  खसी बोका बिक्री हुन्छ । नेपाली खसीको मूल्य प्रतिकिलो ६३० र भारतीय खसीको मूल्य ६६० देखिमाथि छ । यहाँ खसीबोका व्यापारको १६ स्टल छ । झण्डै १०० ले दैनिकरूपमा खसी बोका ल्याउँछन् । होली परेकाले आज भने ३०० खसी बिक्री भएको चौपाया खरिद बिक्री सङ्घ टुकुचा एकाइका अध्यक्ष सन्तोषबहादुर खत्रीले बताउनुभयो । घाँस ल्याउन महिला दुई जना मात्रै भएको र खसी बोका धेरै भएकाले यस्तो बेलामा घाँस हारालुछ हुने खत्री बताउनुुहुन्छ ।

घाँस ल्याउने जिम्मा त्यही दुई महिलाको हो । व्यापारी ‘मलाई एक भारी, मलाई एक भारी’ भन्दै महिलासँग घाँस मागिरहेका थिए । व्यापारीले महिलालाई ‘घाँसे दिदी’ भन्दा रहेछन् । टुकुचामा बिहान तीन महिलाले दैनिक आठ भारी स्याउला गाडीमा ल्याउँछन् । प्रतिभारी स्याउलाको रु ५०० कमाइ हुन्छ । घाँस काट्ने महिला दुई जना ।

हरेक दिन बिहान आउने । घाँस काट्ने बेचेको पैसा लिएर गुजारा चलाउने उहाँहरुको दैनिकी हो । उहाँहरुलाई न श्रमिक महिला दिवस भन्ने थाहा छ, न मुलुकको दैनिक अवस्था र गतिविधि नै थाहा छ । भोलि कुन ठाउँमा पुगेर एक भारी घाँस बनाउन सकिन्छ भन्ने चिन्ता मात्रै छ महिलालाई  ।

उहाँहरुले प्रतिमुठा घाँसको रु २० पाउनुहुन्छ । धेरै ल्याउँदा एक भारीमा ५० मुठा आउँछ । नभए ३०/३५ मुठा मात्रै हुन्छ । घाँस पाउँदा दिनको दुई भारी नभए एक भारीमा चित्त बुझाउनुपर्छ । दैनिक औसत गर्दा छ/सात सयदेखि हजारसम्म कमाइ हुने गरेको महिलाको भनाइ थियो । राम्रो घाँस पाउँदा घाँसे दिदीले एक दिनमा दुई हजारसम्म कमाइ गर्ने गरेको खसी व्यापारी सुनाउँछन् ।  

उहाँहरु नभए खसीबोका र भेडाको पेट अघाउँथेन । त्यसैले घाँस ल्याउँदा टुकुचा बजारमा उहाँहरु ठूलै ‘सेलिब्रेटी’ बन्नुहुुन्छ । भारी बिसाएर घाँस बिक्री हुन नपाउँदै फेरि अर्काे भारी घाँस काट्न जानुपर्ने बाध्यता उहाँहरुमा छ ।  कुरा गर्ने फुर्सद नै हुन्न । एक भारी बिसायो अर्काे भारीको चिन्ता हुन्थ्यो । व्यापारीले घाँस मागिरहेका हुन्थे । यति बेलासम्म हरेक गतिविधि नियालिरहेँ । 

अर्काे भारी घाँस लिन जान थालेपछि कुरा गर्ने प्रयास थालेँ । “घाँस काट्न जान लागेको, मलाई कुरा गर्न फुर्सद छैन”, एक महिलाले मेरो आग्रहलाई ठाडै अस्वीकार गर्नुभयो । परिचय दिएपछि केही मिनेट समय मिल्यो । उहाँको नाम मैयाँँ बोगटी । भक्तपुरको दुवाकोट घर । सोही ठाउँ बस्ने साथीको नाम विमला बोगटी । 

मैयाँँले कुरा गर्न मलाई ३ः१३ मिनेट मात्रै समय दिनुभयो । उहाँका अनुसार घाँस काट्ने ठाउँको ठेगान हुन्न । घाँस लिन सुन्धारा, बानेश्वर, विभिन्न सरकारी अफिसको खाली जमीन चहार्नुपर्छ । कहिलेकाहीँ दुई भारी पारे पनि धेरैजसो एक भारी घाँस मात्रै आउँछ । 

“भोलिको चाडबाड (होली) परेकाले आज खसी बोका बिक्री बढी हुने हुँदा घाँसको बढी माग भएको रहेछ”, उहाँले सुनाउनुभयो “घाँसको माग धेरै छैन नि, स्याउला पनि आउँछ, आज तपाइँले देख्नुभयो भीड, यो त चाडबाडले हो, नत्र एक भारी बिकाउन नि गाह्रो हुन्छ”, कुुराकानीका क्रममा मैयाँले भन्नुुभयो ।

उहाँहरु बिहान ९ बजे घरबाट हिँड्नुहुन्छ । कहिले दिउँसै घर पुगिन्छ । कहिले ४/५ बज्छ । उहाँले थप्नुभयो, “घाँस पायो भने छ÷सात सय कमाइ हुन्छ, कहिले त त्यही पनि हुन्न, कहिले यी यसरी हारालुछ हुन्छ ।”

घाँस पाउनै छाडेको अनुभव सुुनाउने मैयाँ कहिले ३०/३५ मुठा, त कहिले ५० मुठासम्म बिक्ने गरेको बताउनुभयो । मैयाँ यति कुरा गरेपछि विमलाको साथमा हँसिया र नाम्लो बोकेर फेरि घाँसको खोजीमा निस्कनुभयो । मैयाँँले राजनीति र महिला दिवसको विषयमा चासो नभएको बताउनुभयो । विमलाले भने कुरा गर्न मान्नुभएन । 

“गणतन्त्र आए पनि र दिवस आए पनि यही नेता र आसेपासेका लागि मात्रै हो, हामी मजदूरलाई के आउँछ र ?”, नजिकै रहेका अन्य मजदूर एकापसमा कानेखुसी गर्दै थिए । 

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ यस वर्षको श्रमिक महिला दिवसको नारा हो । सन् १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागोमा समान अधिकारको माग राख्दै महिलाले हड्ताल गरेका थिए । जर्मनीकी माक्र्सवादी नेता क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउन राख्नुभएको प्रस्ताव पारित भएको थियो । त्यसपछि सन् १९११ देखि दिवस मनाउन थालिएको हो । 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७५ मा अन्तर्राष्ट्रिय महिला वर्ष मनाइएको थियो । सन् १९७७ मा राष्ट्रसङ्घले आधिकारिक रूपमा महिला अधिकारको उत्सवका रुपमा मनाउने गरी अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दिएको हो । (रासस) 

प्रतिक्रिया दिनुहोस