भरतपुर आँखा अस्पताल : धमाधम आँखाको नानी प्रत्यारोपण, आँखा बैंक स्थापना गर्ने प्रक्रिया सुरु

सफल खबर संवाददाता

आइतबार, २५ फागुन २०७६, १८ : १९
भरतपुर आँखा अस्पताल : धमाधम आँखाको नानी प्रत्यारोपण, आँखा बैंक स्थापना गर्ने प्रक्रिया सुरु

चितवन । चितवनको भरतपुर आँखा अस्पताल एकपछि अर्को छलाङ मार्दै अघि बढेको छ । आँखा अस्पतालले यतिबेला धमाधम आँखाको नानी प्रत्यारोपणको काम पनि गरिरहेको छ । आँखा बैंक स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ । 

भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण सुरु गरेको २६ महिना भएको बताए । उनले यो २६ महिनामा ६० भन्दा बढी नागरिकको आँखाको प्रत्यारोपण भएको जानकारी दिए । 
१५ देखि ८० वर्षसम्मका नागरिकहरुको आँखाको नानी प्रत्यारोपण भएको अस्पतालले जनाएको छ । 

भरतपुरमा काठमाडौंको तिलगंगा आँखा अस्पतालबाट नानी ल्याएर प्रत्यारोपण गर्ने गरिएको सूचना अधिकारी घिमिरेले बताउँछन् । नानी प्रत्यारोपण गर्दा १० देखि ११ हजारसम्म शुल्क लाग्ने अस्पतालको भनाइ छ । 

अस्पतालमा आँखाको नानी बैंक नभएका कारण काठमाडौंबाट नानी ल्याएर प्रत्यारोपण गर्नुपर्ने बाध्यात्मक अवस्था छ । 

त्यसो त अस्पताल आफैँले आँखाको नानी बैंक स्थापना गर्ने लक्ष्य लिएको सूचना अधिकारी घिमिरेले बताए । उनका अनुसार, भरतपुरमा संकलित आँखाको नानी (कोर्निया) रसायनमा राखेर एक दिनभित्रै तिलगंगाको आँखा नानी बैंकमा पठाइन्छ । 

‘तिलगंगा लान नपर्ने गरी आँखाको नानी बैंक स्थापना गर्ने योजना बनाएका छौँ’ सूचना अधिकारी घिमिरेले भने, ‘आँखाको नानी संकलन गर्ने काम भइरहेको छ, मासिक ३० वटा आँखाको नानी कलेक्सन गर्न सकियो भने बैंक स्थापना गर्न सकिन्छ, अहिले कलेक्सन कम भइरहेको छ ।’ उनले यसका लागि जनचेतना गर्ने काम भइरहेको बताए । 

नानी बढीमा १२ घण्टासम्म निकाल्न र एक साताभित्र प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ । चितवनमा हालसम्म झन्डै ३०० जनाले आँखा दान गरेका छन् । आँखादान गर्नु पुण्य काम हो भनेर ब्यापक प्रचार हुन सके प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्था नरहने आँखा अस्पतालको भनाइ छ । 

भरतपुर आँखा अस्पतालमा वार्षिक सवा लाख जनाले सेवा पाइरहेका छन् । आँखा उपचार गराउनेको संख्या हरेक वर्ष बढ्दै गइरहेको अस्पतालको भनाइ छ । गत आर्थिक वर्षमा ६ हजार ७६६ जनाको आँखा अप्रेशन भएको यो अस्पतालमा चालु आर्थिक वर्षको फागुनसम्ममा दुई हजार ९२६ जनाको अप्रेशन भएको छ ।

नेपाल नेत्रज्योति संघद्वारा भरतपुर हाइटमा सञ्चालित यो अस्पतालले नौ वटा आँखा उपचार केन्द्रबाट पनि सेवा दिइरहेको छ ।

२०४४ चैतमा स्थापित भरतपुर आँखा अस्पतालमा २०७४ सालमा आँखाको नानी संकलन केन्द्र खोलियो । तर, प्रोसेसिङ उपकरण नहुँदा संकलित नानीलाई सुरक्षित राख्न काठमाडौं पठाउनुपर्ने वाध्यता छ । 

भरतपुरमा आँखा बैंक स्थापना र सञ्चालनका लागि भीमराज पाठक दम्पत्तीले १ करोड ५० लाख रुपैंया दान गरेका छन् । पाठक दम्पत्तिले खोली दिएको अक्षय कोषको ब्याजबाट अहिले पनि नानी संकलन खर्च जुटिरहेको छ । 

सेवा फाउण्डेसन, नेपालले आँखा बैंकका लागि आवश्यक पर्ने सबै उपकरणहरु क्रमशः उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । धेरै दाहसंस्कार हुने देवघाटमा नानी संकलन उपकेन्द्र खोल्ने अस्पतालको योजना छ । 

आँखा दान गर्नको लागि झन्डै ३०० जनाले फर्म भरेर परिचयपत्र लिइसकेको अस्पतालले जनाएको छ । फर्म भरेकामध्ये चार जनाको भने विभिन्न कारणले मृत्यु भएकाले उनीहरुको आँखा प्रयोगमा आइसकेको अस्पतालकी सहायक म्यानेजर छायाँ श्रेष्ठले जानकारी दिइन् । आँखा दान गरेका मानिसको मृत्यु भएमा मृत्यु भएको ६ घण्टाभित्र निकाल्न सके बढी उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस