पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु

शनिबार, २४ फागुन २०७६, १८ : ५८
पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु

इस्लामावाद, पाकिस्तान । पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् ।

देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको छ । वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण खैबर पख्तुनख्वा प्रान्तका विभिन्न ग्रामिण इलाकामा मात्र १२ व्यक्तिको मृत्यु भएको उक्त प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताउनुभयो । उद्धारकर्मीले कैयौँ अन्य व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरेको पनि बताइएको छ ।

वर्षाका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्षति पुगेको बताइएको छ भने ठूलो मात्रामा हिउँदे बाली नष्ट भएको बताइएको छ ।

वर्षाका कारण अन्य दुई बालबालिकासहित कम्तीमा पाँच जनाको पूर्वी पञ्जाव राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा मृत्यु भएको उहाँले बताउनुभयो ।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ ।

पाकिस्तानको मौसम विज्ञान महाशाखाले गत सोमबार नै बुधबार देखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकहरूलाई सचेत गराएको थियो । महाशाखाले शनिबारपछि मौसममा सुधार आउने बताएको छ । (रासस/सिन्ह्वा)