लीलामणिलाई चीनबाट फर्काउनुको कारण यस्तो रहेछ

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०७६, १७ : १४
लीलामणिलाई चीनबाट फर्काउनुको कारण यस्तो रहेछ

काठमाडौँ । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई मानमर्दन गर्दै नेपाल फर्काउनुको कारण खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको खातिरदारी राम्रो नगरेको भन्दै पौडेललाई नेपाल फर्काइएको रहेछ ।

प्रधानमन्त्रीका सल्लाहकार रिमालले पूर्वराजदूत पौडेललाई हुने नहुने सबै प्रकारका माग राखेर हैरान पारेका थिए । जानकारहरुका अनुसार उनले आफ्ना नाता गोतालाई चीन भ्रमण गराइदिन, राम्रा राम्रा उपहार किनिदिन समेत पटक पटक भनेको बताइन्छ । राजदूत पौड्यालले केही समय त रिमालको उक्त आग्रहलाई स्वीकार गरेपनि अति भएपछि मानेका थिएनन् । 

स्रोतका अनुसार रिमालमात्रै नभई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारका रुपमा रहेका राजन भट्टराईले समेत पौड्याललाई हैरान बनाएका थिए । प्रधानमन्त्रीका मान्छे भन्दै हुने नहुने सबै प्रकारको माग राखेको भन्दै राजदूतले नेकपाका नेता समक्ष गुनासो नै गरेका थिए ।

हुने र सक्ने जति काम गरिदिँदा औला दिँदा डुडुल्लो निले जस्तै गरी प्रधानमन्त्रीका नजिकका मान्छे प्रस्तुत भए, मैले धान्नै नसक्ने भए, पौड्यालको बेला बेलामा गुनासो आउने गरेको थियो । राजदूत पौड्याल आर्थिक तथा अन्य मामिलामा कडा मिजासका मान्छे हुन् । प्रधानमन्त्रीका मान्छेले भनेपछि उनले सकेसम्म गरिदिएका नै थिए । तर सक्ने भन्दा बढी माग राखेका कारण उनलाई परेसान नै भएको थियो ।

चीनका राजदूतले टेरेनन् प्रधानमन्त्रीज्यू भन्दै रिमाल र भट्टराईले मात्रै नभई उनका सचिवालयका अन्य व्यक्तिले समेत गुनासो गरेका थिए । एकाध पटकको गुनासोमा त प्रधानमन्त्री चुप लागेका थिए । तर आफ्नै सचिवालयका मान्छेले नै पटक पटक भनेपछि प्रधानमन्त्रीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मन्त्रिपरिषद्को बैठकमा नै झाँको झारेका थिए । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार केही दिन पहिले बसेको मन्त्रिपरिषद्को बैठकमा समेत लीलामणिको कुरा के हो ? गर्ने भए छिटो गर, होइन भने ? भन्दै प्रधानमन्त्रीले थर्काएका थिए । गुल्मीकै भएकाले पनि प्रदीप ज्ञवालीले म प्रक्रिया मिलाउँदैछु भनेका थिए ।

प्रधानमन्त्रीले बैठकमा नै जिल्लाबासी भएकाले केही सेफ साइडमा राखेको हो भन्दै थप प्रश्न गरेका थिए । उता विष्णु र राजनले त्यो मान्छे ठिक छैन भनेका छन्, कसले नियुक्त गरेको हो त्यो मैले जान्ने कुरा होइन, त्यसलाई छिटो फिर्ता बोलाउनुप¥यो भन्दै कड्किएका थिए । प्रधानमन्त्रीको पटक पटकको दबाव पछि परराष्ट्रमन्त्री ज्ञवालीले लीलामणिलाई फिर्ता बोलाउन तयार भएका थिए ।

काममा इमान्दार रहेका लिलामणिलाई मानमर्दन गरेर फिर्ता बोलाउन लागिएको जानकारी भने उनै ज्ञवालीले फोन गरेर लीलामणिलाई दिएका थिए । सर, मैले सकिन  मेरो केही लागेन, प्रधानमन्त्रीका सल्लाहकारले तपाईंको बारेमा के के लगाएका रहेछन्, तपार्इं फिर्ता आइदिनुप¥यो । मन्त्री नै निरीह बनेर फोन गरेपछि लीलामणिले पनि लौ भइहाल्छ नी, मेरो भन्नु केही छैन भन्दै फोन काटिदिएका थिए ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने लक्ष्यका साथ लीलामणिलाई चीनको राजदूत बनाएर पठाएका थिए । ओलीका सल्लाहकारको बुझाइ के थियो भने लीलामणि प्रचण्डपट्टी बढी झुकाव राख्छन्, त्यसकारण पनि यसलाई फिर्ता बोलाउनुपर्छ । प्रचण्डलाई मात्र गन्ने, हामीलाई नटर्ने भन्दै विष्णु रिमालले त आफ्ना निकटस्थहरुसँग पटक पटक लीलामणिलाई आमचकारी गाली नै गर्ने गरेका थिए । गत आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकलले लीलामणिलाई फिर्ता बोलाउने निर्णय गरेको हो । आफैले ‘सकिन’ भन्दै लीलामणिलाई फोन गरेका ज्ञवालीले सोमबार आयोजना गरेको पत्रकार स्म्मेलनमा भने सिधै ढाटेका थिए । उनले उच्च राजनीतिक नेतृत्वलाई नै पठाउन लागिएको, लिलामणि अक्षम रहेको भन्ने नभएको बताएका थिए ।

रिमाल र भट्टराईहरुले भने लिलामणिलाई बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको ११४ रोपनी जग्गा विक्री प्रकरणमा मुछिएको प्रचार गराएका छन् । शेरबहादुर देउवाका सासू प्रतिभा राणा सक्षम हुने, मान्छेको व्यापार गर्ने शर्मिला ढकाल पराजुली योग्य हुने, यति समूहको मान्छे योग्य हुने तर लीलामणि भने योग्य नहुने भन्दै सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भएको छ ।

रिमालहरुको समूहले   बालुवाटारस्थित ललितानिवास क्याम्प क्षेत्रको एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव पौडेल मुछिएको र उनलाई सोही मुद्दा देखाएर फिर्ता बोलाउने साजिस गरेको सहजै अनुमान गर्न सकिने जानकारहरु बताउँछन् । उनीहरुले भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा चीनका लागि नेपाली राजदूत पौडेलको संलग्नता पाइएको भन्ने गलत हौवा चलाइएको छ ।

सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको संलग्नतामा पाइएको बताइएको छ ।  व्यक्तिका नाममा मोही कायम गरिएको उक्त सरकारी जग्गा भूमाफियाद्वय शोभाकान्त ढकाल, रामकुमार सुवेदी र व्यापारी मीनबहादुर गुरुङलगायतका नाममा कायम गरिएको छ ।  ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव माधव घिमिरे, पूर्वसचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसचिव छविराज पन्तलगायतको संलग्नता देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ । लीलामणिलाई हटाउनुको पछाडि प्रचण्डले नियुक्त गरेको व्यक्ति पनि हुनु रहेको नेकपा भित्र चर्चा चलेको छ ।

पछिल्ला दिनमा वामदेव गौतमको प्रकरणलाई लिएर प्रधानमन्त्रीले प्रचण्डले नियुक्त गरेका धेरै मान्छे हटाइदिने घोषणा नै गरेका छन् । प्रचण्ड सरकारले २०७३ असोजमा चीनका लागि नेपाली राजदूतमा लिलामणिलाई नियुक्त गरेको थियो । बाग्मती सफाइ  अभियन्ताका रुपमा परिचित पौडेललाई फिर्ता बोलाइएको अन्य कारणबारे केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक रुपमा भने केही बताएको छैन ।  ओलीले प्रचण्डले नियुक्त गरेको लिलामणिलाई हटाएर माधव नेपाल नजिक रहेका  पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गर्न प्रस्ताव गरेका थिए। पाण्डे तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए । पाण्डे नेकपा नुवाकोटको इन्चार्ज पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस