कोरोना भाइरसबाट विश्वभर कति भए संक्रमित ? कति जनाले ज्यान गुमाए ? (तालिकासहित)

एजेन्सी

शनिबार, २४ फागुन २०७६, ११ : ३२
कोरोना भाइरसबाट विश्वभर कति भए संक्रमित ? कति जनाले ज्यान गुमाए ? (तालिकासहित)

फाईल फोटो

काठमाडौँ । विश्वव्यापी त्रास बनेको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वका ९० भन्दा बढी मुलुकका एक लाखभन्दा बढी नागरिक संक्रमित बनेका छन् । तीमध्ये तीन हजार चार सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार शुक्रबार बेलुकीसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३६ पुगेको छ । १ लाख १ हजार ७ सय १० जनामा संक्रमण देखिएको छ ।  

चीनको जोन्स हपकिन्स विश्वविद्यालयकाअनुसार चीनमा कम्तिमा ३,०४२ जना व्यक्तिको मृत्यु भएको छ भने विश्वको अन्य भागमा ३ सय ९४ जनाको ज्यान गएको छ, जसमध्ये अधिकांश इटाली र इरानका रहेका छन् ।

पछिल्लो २४ घण्टाभित्र इरानमा कम्तिमा १ हजार २ सय जना नयाँ संक्रमितहरु देखा परेका छन् ।  यो कोरोना प्रकोप सुरु भएदेखिकै देशको सबैभन्दा ठूलो संक्रमणको फड्को हो । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको रिपोर्टअनुसार  थप १ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा १ सय ९७ जनाको मृत्यु भएको छ ।

फ्रान्समा पनि रातारात १५४ जना नयाँ संक्रमितहरु थपिएको बताइएको छ । त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस