विभुषको पनि सम्मान होस् र सस्तो पनि नबनोस् : गृहमन्त्री थापा

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, १८ : ५२
विभुषको पनि सम्मान होस् र सस्तो पनि नबनोस् : गृहमन्त्री थापा

फाईल फोटो

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई राज्यका तर्फबाट प्रदान गरिने विभूषणलाई सस्तो बनाउन नहुने बताउनु भएको छ । 

विभूषण सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाबारे आज राजधानीमा भएको छलफलमा सुझाव प्रस्तुत गर्दै गृहमन्त्री थापाले उपयुक्त व्यक्ति र संस्थाले उपयुक्त विभूषण पाउने गरी विधेयक आउनुपर्नेमा जोड दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “वास्तविक पात्रहरु सम्मानित हुनुपर्छ भन्ने ढङ्गले विधेयक आउनुपर्छ, जसबाट विभुषको पनि सम्मान होस् र सस्तो पनि नबनोस् ।” 

उहाँले विगतमा विभूषण बहिस्कार भएका घटनाको स्मरण गर्दै उत्कृष्ट सेवा गर्नेले नै सम्मान पाउनेतर्फ सचेत हुनुपर्नेमा आवश्यकता औँल्याउनुभयो । नेपाल कानुन आयोगले आज राजधानी आयोजना गरेको विधेयकको मस्यौदा माथिको छलफलमा मन्त्री थापाले राष्ट्रको श्रीवृद्धिमा संस्था र सङ्गठनको पनि महत्वपूर्ण  योगदान हुने भएकाले व्यक्तिलाई मात्रै नभइ त्यस्ता संस्थाको मूल्याङ्कन गरी विभूणण प्रदानको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

विधेयकको मस्यौदामाथि सुझाव दिँदै मन्त्री थापाले केन्द्रमा सिफारिस समिति बनाउने र प्रदेशमा सुझाव समिति बनाउने विषयमा तादाम्प्यता मिलाउनुपर्ने सुझाव दिनुभयो । प्रदेशको संरचनामा पनि केन्द्रसँग मिल्दोजुल्दो हुनुपर्ने उहाँको भनाइ थियो । 

उक्त समितिमा सरकारको प्रतिनिधि मात्रै नराखेर राष्ट्रिय क्षेत्रमा योगदान गरेको व्यक्तिलाई सहभागि गराउँदा उपयुक्त हुने मन्त्री थापाको सुझाव थियो । गृहमन्त्री थापाले कतिपय शब्दहरु परम्परावादी रहेकोले गणतन्त्रको भावना अनुरुप नयाँपन दिँदै जानुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रियामा नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले आएका सुझावका आधारमा थप परिमार्जन गरी विधेयक अगाडि बढाईने प्रतिवद्धता जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस