बसन्तपुरमा होलीको लिंगो ठड्याएसँगै शुरु भयो रंगहरुको पर्व

मंगलबार, २० फागुन २०७६, ०९ : ५५
बसन्तपुरमा होलीको लिंगो ठड्याएसँगै शुरु भयो रंगहरुको पर्व

काठमाडौँ । रंगहरुको उत्सव होली अर्थात फागु पर्व अब आउन एक साता पनि बाँकी छैन् । सदभाव र भाईचारा सम्बन्ध स्थापित गर्ने पर्वको रुपमा रहेको होली पहाड र तराईमा गरि छुट्टाछुट्टै दिन खेलिन्छ ।

होली पर्व नजिकिदैं गर्दा एक किसिमको उमंग पनि शुरु भएको छ । होली औपचारिक रुपमा सुरु भएको संकेत भने आज मंगलबार काठमाडौँको बसन्तपुरमा बिहानको शुभसाइतमा होलीको लिंगो ठड्याएसँगै सुरु भएको हो ।

रंगिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ ।

यो वर्षको होली पहाडका जिल्लामा आउँदो सोमबार र तराईका जिल्लामा मंगलबार मनाईँदै छ । होली नजिकिएसंगै पर्व मान्न सर्वसाधारण भने आ–आफ्ना गृह जिल्ला समेत फर्किन थालेका छन् ।