आइसोलेसन वार्ड छैन, आवश्यक परे क्याबिनलाई नै वार्ड बनाउने तयारी

मंगलबार, २० फागुन २०७६, ०७ : २२
आइसोलेसन वार्ड छैन, आवश्यक परे क्याबिनलाई नै वार्ड बनाउने तयारी

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीमा रोग फैलिन नदिन हरेक अस्पतालले छुट्टै ‘आइसोलेसन वार्ड’ स्थापना गरी उपचार गर्नुपर्छ । तर, नेपालमा यस्तो व्यवस्था छैन ।

हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पनि भएका क्याबिनलाई आइसोलेसनको नाम दिइएको छ । क्याबिनका १० बेडलाई आइसोलेसन भनिएको छ । टेकु अस्पतालमा जम्मा चार आइसियू बेड छन् । तर, अधिकांश समय एचआइभीका बिरामीले भरिएका हुन्छन् ।

कोरोनाका बिरामी आए आइसियू, भेन्टिलेटर आवश्यक पर्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रशासन प्रमुख रूपनारायण खतिवडा अस्पतालमा रहेका चार आइसियू बेड अहिले पनि अन्य बिरामीले भरिएको बताउँछन् । यता वीर अस्पतालमा ११ बेड आइसियू सञ्चालनमा छन् । अहिले सबै बेड बिरामीले भरिएको निर्देशक डा. केदारप्रसाद सेन्चुरी बताउँछन् ।नयाँ पत्रिकामा खबर छ ।