प्रधानमन्त्री ओलीलाई भेटेर उपराष्ट्रपति पुनले गरे नेपालमै उपचार गर्न लागेकोमा खुसी प्रकट

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १३ : ३३
प्रधानमन्त्री ओलीलाई भेटेर उपराष्ट्रपति पुनले गरे नेपालमै उपचार गर्न लागेकोमा खुसी प्रकट

फाइल फोटो

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौलाको प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उपराष्ट्रपति पुनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी पूरा भएको उपराष्ट्रपतिलाई जानकारी दिएका थिए भने त्यसपछि आफू पूर्ण स्वस्थ भएर देश र जनताको सेवामा समर्पित हुने बताएका थिए । 

सो क्रममा उपराष्ट्रपति पुनले नेपालमै मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीको यस निर्णयबाट जनता पनि खुसी भएको बताएका थिए । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले उपराष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनासहित नेपालमै उपचार गर्न लागेकोमा खुसी प्रकट गरेको जानकारी दिए । 

सो क्रममा उपराष्ट्रपति पुनले नेपालका अस्पतालको सेवा भरपर्दो र गुणस्तरीय रहेको भन्दै ८ वर्षअघि दुवै मिर्गौलामा समस्या आउँदा आफूले पनि विदेश नगएर नेपालमा उपचार गराएको स्मरण गरेका थिए । २०६८ सालमा दुवै मिर्गौलामा समस्या आउँदा पुनको उपचार त्रिवि शिक्षण अस्पतालमै भएको थियो ।

प्रतिक्रिया दिनुहोस