गृहमन्त्रीले प्रहरीलाई भने : सुरक्षा चुनौती विष्लेषण गरेर शान्ति सुरक्षामा खटिनुस्

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०७६, २० : ०२
गृहमन्त्रीले प्रहरीलाई भने : सुरक्षा चुनौती विष्लेषण गरेर शान्ति सुरक्षामा खटिनुस्

कास्की ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विभिन्न प्रदेशको सुरक्ष भेलामा सहभागि हुँदै आएका छन् । आजमात्रै गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीमा सरिक भए ।  
नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा उक्त गोष्ठी शुक्रबारदेखि सुरु भएको थियो । उक्त अवसरमा गृहमन्त्री थापाले वर्तमान समयमा देखा परेका सुरक्षा चुनौतीहरुलाई समाधान गर्दै समाजमा शान्ति, स्थायित्व एवं सुशासन कायम गर्न सर्वपक्षीय समन्वय एवं सहकार्यबाट परिस्कृत तथा एकिकृत रणनीतिक योजना अनुरुप लाग्नुपर्ने बताए ।

विकास एवं समृद्धिका लागि नागरिकको चेतना अभिवृद्धिमा समेत जोड दिनुपर्ने उनले  उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश अन्तर्गतको प्रहरी संगठनको संरचनालाई थप सुदृढिकरण गर्दै ज्ञान एवं कौशलले दक्षतापूर्ण प्रहरी जनशक्ति उत्पादन गरी थप रचनात्मक ढंगले जनता केन्द्रित प्रहरी सेवा प्रदान गर्नेतर्फ प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

सो अवसरमा गृहसचिव महेश्वर न्यौपानेले पेशागत अभिवृद्धि, उच्च व्यवसायिकता प्रदर्शन, जिम्मेवारीमा संवेदनशीलताका साथै आपसी समन्वय र सहकार्यबाट शान्ति सुरक्षा र अमनचयनको अवस्थालाई सदैव चुस्तदुरुस्त राख्न सकिने चर्चा गर्दै यसका लागि सबै निकाय एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव किरणराज शर्माले प्रदेशस्तरीय सुरक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त गोष्ठीमा गण्डकी प्रदेशका ११ वटा जिल्लाका प्र्रमुख जिल्ला अधिकारीहरुले आ(आफ्नो जिल्लाको शान्ति सुरक्षा र चुनौतीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, वर्तमान सुरक्षा चुनौती, उपलव्ध साधनस्रोत, भावी रणनीतिक योजना लगायतका विविध विषयमा सहभागीहरुबीच दुई दिनसम्म छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान समेत भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस