दैनिक ५३ लाख घाटा बेहाेरिरहेकाे निगमले २१ जनालाई सित्तैमा जापान उडाउँदै !

शनिबार, १७ फागुन २०७६, ०७ : ४५
दैनिक ५३ लाख घाटा बेहाेरिरहेकाे निगमले २१ जनालाई सित्तैमा जापान उडाउँदै !

काठमाडौँ । दैनिक ५३ लाख रुपैयाँ घाटा बेहोर्दै आएको र ४० अर्बको ऋणमा डुबेको नेपाल वायुसेवा निगमले सोमबार जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानमा २१ जनालाई ‘औचित्यविना’ लैजाने भएको छ । उनीहरू सबैको आतेजाते टिकट, भिसा शुल्क, होटल खर्च, दैनिक भ्रमण भत्ता निगमले व्यहोर्ने छ । निगमले यसमा न्यूनतम २५ लाख रुपैयाँ लाग्ने भनेको छ ।

निगमका एक निर्देशकका अनुसार सञ्चालक समिति सदस्य तथा सांसदलाई दैनिक १ सय १० डलर भत्ता, जापान बसाइमा प्रतिकोठा दैनिक १ सय १२ डलर, जानेआउने हवाई टिकट, कार्यक्रमलगायत खर्चको बिल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई बेहोर्न भनिएको छ । ‘सांसदलगायतलाई एकतर्फी १ लाख रुपैयाँ हाराहारी पर्ने बिजनेस श्रेणीको सिटमा लैजाने भनिएको छ,’ निगमको वाणिज्य विभागका एक कर्मचारीले भने, ‘तर यताबाट जाँदा सबै बिजनेस श्रेणीका सिट खाली भएकाले भ्रमणमा जाने सबैको सिट ७० हजार रुपैयाँ पर्ने इकोनमी श्रेणीबाट अपग्रेड गर्नुपर्ने भनिएको छ ।’

जापानका लागि उड्ने निगमको वाइडबडी विमानमा १८ वटा बिजनेस, २ सय ५६ इकोनमीसहित २ सय ७४ वटा सिट छन् । यो भ्रमणमा इकोनमी श्रेणीमा राखिएका भ्रमणका सदस्यलाई बिजनेस श्रेणीमै लैजाने भनिएको विमानस्थलस्थित अन्तर्राष्ट्रिय उडान हेर्ने एक अधिकारीले बताए । सोमबार जाने नेपाली टोली बुधबार मात्रै फर्किने छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।