नयाँ योजनाका साथ अघि बढ्न खानेपानी संस्थानलाई मन्त्री मगरको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, १६ : ४२
नयाँ योजनाका साथ अघि बढ्न खानेपानी संस्थानलाई मन्त्री मगरको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढंगले सुदृढ बनाई नयाँ योजनाहरुका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिनुभएको छ । 

नेपाल खानेपानी संस्थानको ३१ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री मगरले  संस्थानको गरिमालाई अझ उचाईमा पु¥याउन नयाँ कार्ययोजना सहित अघि बढ्न निर्देशन दिनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संस्थानको आवश्यकता अहिले हरेक जिल्ला र स्थानीय तहमा परिरहेको छ । एउटै गति र एकरुपतामा काम अघि बढाउनुस् । यो संस्थाको उचाई अझ बढाउनुस् ।”

‘बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो आयस्रोत र क्षमता बढाउनुस् ।,’ निर्देशन दिंदै उहाँले भन्नुभयो, ‘कुनै समय अब्बल रहेको संस्थानलाई अब नोक्सान नहुने गरी काम अघि बढाउस् । सरकार यो संस्थालाई सहयोग गर्न पूर्ण प्रतिबद्ध छ ।’ संस्थानले नयाँ कार्यक्रमहरु ल्याई आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । 

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खानेपानी संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताउनुभयो । ‘संस्थानका चुनौतिहरु धेरै छन्, यी चुनौतिहरुसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको छ ।’ सचिव बेल्बासेले भन्नुभयो, ‘संस्थानले साना तिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणाली (बल्क सिस्टम) मा आधारित ठूल ठूला खानेपानी आयोजनाहरुको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ । त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ ।’ 

उहाँले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गर्नुभयो । संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले खानेपानीको समस्या भएका मुख्य सहरहरु बुटवल, नेपालगञ्ज, पोखरा र विराटनगरमा खानेपानी आपूर्ति गर्ने गरी कामहरु अघि बढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस