जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न : प्रचण्ड

विहीबार, १५ फागुन २०७६, १६ : २८
जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न : प्रचण्ड

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विवाद हुनुलाई सामान्य भएको बताउनुभएको छ । 

बिहीबार राजधानीमा भएको नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विवाद नभएको त पार्टी नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ ।’  जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी नचाहिने उहाँको भनाइ थियो । 

उहाँले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताउनुभयो । विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ प्रचण्डले भन्नुभयो । 

‘पार्टी भनेको जमेको पोखरी जस्तो निलो भएर बस्ने, किटाणुहरु लाग्ने जस्तो होइन । पार्टी गडगडाएर अघि बढ्ने हो त्यहाँ विवाद बहस हुन्छ’ प्रचण्डले भन्नुभयो, ‘आजभोलि के हो भन्ने तपाईलाई परेको छ । हामी धेरै दुःख र मूल्य चुकाएर देशमा कम्युनिस्ट पार्टीमा यो स्थानमा ल्याएका हौं । यसमा धेरैको रगत पसिना करोडौं जनताको आशा छ । यो पार्टीलाई कुनै पनि विघटन र विभाजन हुन दिइने छैन ।’

दुई अध्यक्षबीच विवाद भएको बारे सञ्चारमाध्यममा आएका समाचारहरुलाई नपत्याउन आग्रह गर्दै प्रचण्डले दुई अध्यक्षबीचको विवाद सामान्य भएको बताउनुभयो । ‘दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईहरु नै तर्सने जसरी । तर विवाद समाधान गरेका त छौं’ प्रचण्डले भन्नुभयो, ‘अहिले पनि केही विषयमा के के हो भन्ने आएको छ । मिडियामा आएको जसरी पछि नलाग्नु होला । हामी बसेर समस्या समाधान गर्छौं ।’

नेकपालाई कमजोर र विभाजित गर्ने प्रतिक्रियावादीको षड्यन्त्रलाई पूरा हुन नदिइने बताउँदै प्रचण्डले एक ढिक्का भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभयो । 
 

प्रतिक्रिया दिनुहोस