ट्रम्पको भारत भ्रमण : ‘भारत-अमेरिका साथसाथ’

पत्रपत्रिकाबाट

मंगलबार, १३ फागुन २०७६, ०७ : ४९
ट्रम्पको भारत भ्रमण : ‘भारत-अमेरिका साथसाथ’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको अहमदाबादबाट सुरु गरे ।

दुईदिने भारत यात्रामा सोमबार बिहान अहमदाबादको सरदार वल्लभभाइ पटेल विमानस्थल उत्रिएका ट्रम्प दम्पतीलाई स्वागत गर्न प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल तोडेर विमानस्थल नै पुगेका थिए । राष्ट्रपति ट्रम्पलाई अंगालो हालेर मोदीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री मोदी निर्धारित कार्यक्रमअनुरुप राष्ट्रपति ट्रम्पलाई अहमदाबादको सावरमती आश्रमको अवलोकन गराएर मोटेरा क्रिकेट स्टेडियममा ‘नमस्ते ट्रम्प' कार्यक्रममा सम्बोधन गर्न पुगेका थिए ।

गत वर्ष जुनमा अमेरिका भ्रमणमा पुगेका मोदीको सम्मानमा प्रवासी भारतीय अमेरिकीहरुले आयोजना गरेको ‘हाउडी मोदी’ कार्यक्रममा ट्रम्प र मोदीले त्यहाँ सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ट्रम्पको उपस्थितिलाई उनको प्रवासी भारतीय अमेरिकी समुदायको ‘भोट बैंक रणनीति’ भन्दै टिप्पणी गरिएको थियो ।

अहमदाबादबाट ट्रम्पले गरे भारतको चासोलाई सम्बोधन

चीनको बीआरआइ र अमेरिकाको इण्डो प्यासिफिक रणनीतिअनुरुप विश्वको धार विभाजित हुँदा अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको तनावग्रस्त व्यापारिक सम्बन्धको विकल्पको रुपमा भारतलाई हेरिन्छ ।

भारतको टाउको दुखाई बनेको आतंकवादविरुद्ध अमेरिकाको साथ र समर्थन भारतको प्राथमिक आवश्यकतामा छ । त्यसबाहेक बीआरआइमा समर्थन नजनाएको भारत चीनतर्फबाट पनि सधैं दबाबमा रहेको छ ।

दुवैको चासोलाई नमस्ते ट्रम्पको मञ्चबाट ट्रम्पले सम्बोधन गरेका थिए । दक्षिण एशियाको उदाउँदो शक्ति राष्ट्र भारतबाट विश्व समुदायलाई सम्बोधन गर्दै ट्रम्पले आतंकवादविरुद्ध भारतको सहकार्यको प्रशंसा गरे । ‘हरेक राष्ट्रसँग सुरक्षा र सीमा नियन्त्रणको हक हुन्छ । अमेरिका र भारतले आतंकवाद रोक्न त्यसविरुद्ध लडिरहेका छन् । मेरो प्रशासनले आतंकवादसँग लड्ने विषयमा पाकिस्तानसँग सफलतापूर्वक काम गरिरहेको छ । यस क्षेत्रमा शान्ति स्थापनाका लागि भारतको नेतृत्वदायी भुमिका छ’, उनले भने । ट्रम्पको यो भनाइबाट आतंकबाद विरुद्ध भारतले चालेका कदमलाइ थप बल मिल्ने देखिन्छ ।

सोही मञ्चमा राष्ट्रपति ट्रम्पले भारत, भारतीय जनता र भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै लामो मन्तव्य दिए । भारतले अमेरिकासँग व्यापारिक साझेदारको रुपमा राम्रो व्यवहार नगरेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदी निकै मनपर्ने बताउँदै आएका छन् ।

भारत भ्रमण गर्नुअघि ट्रम्पले भारतसँग ठूलो व्यापारिक संझौता नहुने संकेत दिएका थिए । भारतीय विदेश मन्त्रालयले पनि खुलेर संझौताका विषयमा उल्लेख गरेको थिएन । तर भारतीय संचार माध्यमहरुले रक्षा संझौता हुन सक्ने अनुमान गरेका थिए । राष्ट्रपति ट्रम्पले सम्बोधनकै क्रममा भारतसँग ३ अर्ब बराबरको रक्षा संझौता हुने घोषणा पनि गरे ।

उनले भारत आउनुअघि नै व्यापार संझौता नहुने संकेत दिइसकेका थिए । ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाइ निकै मन पराउँछु तर भारतले हामीसँग एकदम राम्रो व्यवहार गरेको छैन,’ट्रम्पले वाशिंगटनमा पत्रकारहरुसँग आफ्नो गुनासो राखेका थिए ।

ट्रम्पले स्वतन्त्रतापछिको भारतको आर्थिक विकास गतिको निकै लामो प्रशंसा गरे । उनले आफ्नो सम्बोधनमा अमेरिकाले भारतलाई माया गर्ने, भारतको सम्मान गर्ने र भारतीय जनताका लागि सदैव विश्वासी र इमान्दार मित्र रहने दाबी समेत गरे ।

मोदीको ट्रम्प प्रशंसा

आफ्नो गृहनगरमा ट्रम्पलाई पहिलो शहर बनाउन पाएको गर्व गरिरहेका भारतीय प्रधानमन्त्री मोदीले भारत–अमेरिका मित्रताको नारा लगाउँदै दर्शकदीर्घालाई ‘युगौंयुग सम्मको’ भन्न लगाएका थिए । उनले मञ्चबाट ट्रम्पको सम्बोधनअघि र समापन मन्तव्य दुबै दिएका थिए ।

यसबीचमा राष्ट्रपति ट्रम्पको परिवार भारत आएको भन्दै उनले भारत–अमेरिकाबीच पारिवारिक सम्बन्ध जस्तो मिठास र घनिष्टताको पहिचान दिएको पनि बताए । साझेदारीको मात्र नभएर यो दीर्घकालिन घनिष्ट सम्बन्ध रहेको भन्दै सम्बोधन गरे । ट्रम्पको सम्बोधन पछिको समापन सम्बोधनमा मोदीले राष्ट्रपति ट्रम्पले भारतको गौरब बढाउनुको साथै अमेरिकामा रहको भारतीयको पनि सम्मान गरको बताए । उनले दुइ देशबीचका सम्बन्ध विश्वासमा आधारित हुने बताए ।

उनले पछिल्लो केही वर्षमा भारत र अमेरिकाबीचको विश्वासको मजबुती नयाँ उचाइमा पुगेको भन्दै यसलाई ऐतिहासिक बताए । उनले आफ्नो अमेरिका भ्रमणका क्रममा आफूले यो विश्वास दिन दिनै मजबुत भएको देखेको बताए । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।