पोर्चुगलमा नेपाली दूतावास खोल्न माग

सोमबार, १२ फागुन २०७६, १४ : ५१
पोर्चुगलमा नेपाली दूतावास खोल्न माग

- भगवान् गिरी
लिस्बन । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र  अवैध कमिशन लिन छुट नभएको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले कारवाही गरेर छाड्ने बताउनुभयो ।

प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी सबैसँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको हकहितका लागि लाग्न पनि उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा स्पेन, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्डसलगायत युरोपेली राष्ट्रका प्रवासी नेपाली एकता  मञ्चका नेताकार्यकर्ताको सहभागिता थियो । 

यसैबीच पोर्चुगलस्थित प्रवासी नेपाली एकता मञ्चले पोर्चुगलमा राजदूतावास खोल्न नेपाल सरकारसँग माग गरेको छ । मञ्चको एक  प्रतिनिधिमण्डलले पटक पटक सोबारे ध्यानाकर्षण गर्दा पनि नेपाल सरकारले चासो नदिएको भनी परराष्ट्रमन्त्रीसँग गुनासो गरेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले छिटोभन्दा छिटो सो समस्या समाधानका लागि आफू र सरकार प्रतिबद्ध भएको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस