प्रधानमन्त्री ओलीको ध्यान वामदेव तिरै !

सफल खबर संवाददाता

आइतबार, ११ फागुन २०७६, ०८ : ४८
प्रधानमन्त्री ओलीको ध्यान वामदेव तिरै !

काठमाडौं । प्रतिनिधिसभाको चुनाव हारेपछि नेकपाभित्र वामदेव गौतम कमजोर बनेको चर्चा थियो । उनका निकट नेताहरु कोही प्रधानमन्त्री केपी ओलीका क्याम्पमा त कोही वरिष्ठ नेता माधव नेपालको क्याम्पमा जान थालेपछि उनी पार्टीभित्र एक्लो बृहस्पति बन्न थालेका थिए ।

उमेरले पार्टी सचिवालयका सदस्यहरुमध्ये सबैभन्दा जेठा देखिएपनि हक्की र जुझारु स्वभावका नेता गौतमले आफुलाई पार्टीभित्र भूमिका बिहिन अवस्थामा देखेपछि असन्तुष्टि पोख्न थालेका थिए । तत्कालिन एमालेको विधान फलो गरेका भए यतिखेर उनी राजनीतिबाट रिटायर्ड जीवन बिताउने योजना बुन्दै गरेका हुन्थे । तर तत्कालिन एमाले र माओवादी केन्द्रको एकता पछि पार्टीभित्र रहेको उमेर हद (७० वर्ष) को विषय विधानवाट गायब भयो । त्यसपछि पनि उनलाई पार्टी राजनीतिमा अझै सक्रिय बन्ने बाटो खुलेको थियो ।

देशभर वाम गठवन्धनका नेताहरुले चुनाव जितिरहदा गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने चुनावमा पराजित भएका थिए । यस बीच श्रेष्ठ गण्डकी प्रदेशवाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आईसकेका छन । संसदमा नरहेका उनी मात्रै छन् ।

गौतमको यो अवस्था देखेर उनलाई पार्टी जिम्मेवारीमा अगाडी बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले नै प्रधानमन्त्री ओलीलाई बेलाबखत आग्रह गर्दै आएकी छिन् । त्यही क्रममा नेकपाले अहिले उनलाई शक्तिशाली बनाउँदै छ । 

पार्टीको महत्वपूर्ण विभाग संगठन विभागका प्रमुख बनाईएका उनलाई नेकपाले विधान संसोधन गरेरै गत केन्द्रीय समिति बैठकवाट पार्टीको उपाध्यक्ष बनाएको छ । अध्यक्षको अनुपस्थितीमा पार्टी अध्यक्षले गर्ने कामको अधिकार प्रत्यायोजन गरेर उनलाई नेकपाले माघ १९ बाट पार्टीको उपाध्यक्ष पनि बनाएको छ । प्रतिनिधीसभामा पराजित भएपनि उनले संसद छिर्ने अनेक दाउ पनि यो बीचमा गरे ।

प्रतिनिधी सभाकै निर्वाचन सांसदलाई राजीनामा गराउन लगाई त्यो स्थानमा पूनः उपचुनाव गराएर गौतमले शुरुमा संसदमा छिर्ने अनेकन दाउ खोजे । कहिले उनले डोल्पा ताके ,कहिले काठमाडौं नै । तर उनको योजना सफल हुन सकेको थिएन । जब प्रधानमन्त्री ओली पार्टीमा अप्ठयारोमा पर्दै आउन थाले, उनले गौतमलाई काखी च्याप्ने अनेकन प्रयास गर्न थाले । राष्ट्रपति भण्डारी समेतको सल्लाहमा उनलाई प्रधानमन्त्री आलीले आफनो पक्षमा तान्नका लागि अनेकन आश्वासन दिएर फकाउने प्रयास अझै जारी छ ।

तर गौतम अर्का अध्यक्ष प्रचण्डसँग पनि उत्तिकै नजिक रहेर काम गरिरहेका छन् । प्रचण्डसँगको विशेष सम्बन्ध उनको देखिदै आएका कारण पनि ओलीले गौतमलाई विभिन्न पदको आश्वासन देखाउँदै आफनो समुहमै पूनः फर्काउने प्रयास जारी छ ।

शनिबार सम्पन्न नेकपा सचिवालय बैठकमा समेत फेरि वामदेव चर्चामा आएका छन् । उनलाई राष्ट्रिय सभा सदस्यमा लैजाने यस अगाडीको प्रयासमा वामदेवले नै राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने ब्यवस्था संविधानमा संसोधन गराउनु पर्नेमा अडान लिएपछि सम्भव भएको थिएन् । 

अहिले फेरि उनलाई राष्ट्रिय सभामा लैजाने गरि नेकपा बैठकमा विषय प्रवेश भएको छ । गौतमले शनिबारको बैठकमा पनि संविधान संसोधनको विषयमा आफनो जिज्ञासा रहेको र त्यसमा के हुन्छ ? भनी पून प्रश्न नेतृत्वसँग तेस्र्याएका छन् । गत पुस २३ गते उनकै निवास भैसेपाटीमा बसेको नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठकले संविधान संसोधनका लागि प्रधानमन्त्रीसँग पनि आवश्यक छलफल गर्ने निश्र्कष निकालेका थिए ।

गौतमले शनिबारको बैठकमा त्यही विषय उठाउँदै संविधान संसोधन गरी राष्ट्रिय सभा र प्रतिनिधीसभाका सदस्यहरुको बिचको विभेद अन्तय गर्ने विषय के भयो भनी प्रश्न उठाएका थिए । ओली गौतमलाई शक्तिशाली बनाई आफ्नो क्याम्पमा तान्न कसरतमा छन् । त्यही भएर संगठन विभाग, पार्टी उपाध्यक्ष र अब राष्ट्रिय सभामा मनोनित सांसदका रुपमा लान सकिए गौतमलाई आफनो पक्षमा तान्न सकिनेमा विश्वस्त देखिएका छन् ।

राष्ट्रिय सभामा फागुन २० बाट युवराज खतिवडाको म्याद सकिदैछ । त्यही स्थानमा बामदेव गौतम लाई लैजाने विषयमा नेकपामा अहिले छलफल छ । अबको सचिवालय बैठकबाट यसको निर्णय लिने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस