उपसभामुख निर्वाचन अन्योलमा...

पत्रपत्रिकाबाट

आइतबार, ११ फागुन २०७६, ०७ : १८
उपसभामुख निर्वाचन अन्योलमा...

काठमाडौं । सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।

संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित गरेको थियो ।

फरक दलको व्यक्तिलाई उपसभामुख बनाउने विषयमा भने नेकपाले राजनीतिक सहमतिको बाटो रोजेको छ । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय जनता पार्टी (राजपा)लाई सरकारमा सहभागी गराउने र उपसभामुख बनाउने नेकपाको प्रस्ताव राजपाले अस्वीकार गर्दा उपसभामुखको निर्वाचन अन्योलमा परेको हो ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको चयन गरिने व्यवस्था छ । सो धाराको उपधारा १ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।

सोही धाराको उपधारा २ मा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि रिक्त सभामुख पदमा नेकपाकै सापकोटा निर्वाचित भए । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था भएको र नेकपाबाहेकका दलहरू सो पदका लागि तयार नभएकाले तत्काल निर्वाचन हुने सम्भावना नदेखिएको बताए ।

संविधानले निर्वाचनपछि १५ दिनभित्र उपसभामुख चयन गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि राजीनामा दिएको अवस्थामा भने कुनै बाध्यता नरहेको उनले धारणा राखे । प्रतिनिधिसभामा हाल कायम रहेका दलहरूमध्ये उपसभामुखमा राजपाको सम्भावना धेरै देखिएको छ ।

उपेन्द्र यादवको संघीय समाजवादी दल केही समयअघि सरकारबाट बाहिरिएको छ । यस्तै, नेपाली कांग्रेसले संसद्मै सत्तापक्षसँग ‘कमण्डलु’ लिएर पद नमाग्ने भन्दै आफ्नो रुचि नभएको संकेत गरेको छ । यसैगरी, एक मात्र सांसद रहेको राष्ट्रिय जनमोर्चाले सो पदमा आफ्नो तर्फबाट कुनै दाबी नभएको स्पष्ट पारिसकेको छ ।

राजपाले राष्ट्रियसभा निर्वाचनमा नेकपासँग मिलेर प्रदेश २ मा आफ्नो उम्मेदवारलाई निर्वाचित गराएको थियो । यसले गर्दा उपसभामुखमा राजपाको सम्भावना धेरै देखिएको हो । तर, नेकपाले राजपासँगको बैठकमा केन्द्रदेखि प्रदेशसम्म एकैपटक डिल गर्नुपर्ने प्रस्ताव राखेपछि यो विषयमा सहमति जुट्न सकेको छैन ।राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस