एमसीसीमा गम्भीर आपत्तिजनक बुँदा : कार्यदल, संशोधन पछि मात्र अनुमोदन

पत्रपत्रिकाबाट

शनिबार, १० फागुन २०७६, ०७ : ०७
एमसीसीमा गम्भीर आपत्तिजनक बुँदा : कार्यदल, संशोधन पछि मात्र अनुमोदन

काठमाडौँ । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अध्ययन गर्न बनेको सत्तारुढ नेकपाको कार्यदलले यससँग जोडिएका सम्झौताहरुमा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको बताएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा ती बुँदाहरु सच्चाउनुपर्ने सुझाव समेटिएको छ।

एमसीसी सम्झौतामा गम्भीर आपत्तिजनक बुँदाहरु भेटिएको संयोजक खनालले ईकान्तिपुरलाई बताए। संयोजक खनाल भन्छन्, ‘हामीले गम्भीर आपत्तिजनक बुँदाहरु भेट्यौं। अमेरीकाको न्यूयोर्क स्टेटको कानुन नेपालमा लागु हुनेछ भन्नेसम्मका बुँदा रहेछन्।’

संयोजक खनालका अनुसार अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पार्छ। उनका अनुसार गम्भीर र आपत्तिजनक बुँदा हटाएपछि मात्र यसबारे निर्णय लिनुपर्छ।

खनालले दुई अध्यक्षले दुई–तीन अध्ययन गरेपछि प्रतिवेदनमाथि पार्टीभित्र थप छलफल हुने बताए। ‘हामीले जुन सुझाव दिएका छौं, त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यो सुझाव कार्यान्वयन नगरिकन एमसीसी पास हुँदैन,’ संयोजक खनालले भने।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि भन्दै खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो। उक्त कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको हो।

कार्यदलले बुझाएको प्रतिवेदन अध्ययक्षद्वयले अध्ययन गरेपछि सचिवालय बैठकमा पेस हुने भएको छ। त्यसपछि मात्रै नेकपाले एमसीसीबारे थप निर्णय गर्नेभएको छ।

प्रतिक्रिया दिनुहोस