दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि घाँसे मैदान व्यवस्थापनकै लागि ३ करोड ५० लाख बजेट

शुक्रबार, ०९ फागुन २०७६, ११ : ०८
दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि घाँसे मैदान व्यवस्थापनकै लागि ३ करोड ५० लाख बजेट

सांकेतिक तस्बिर ।

चितवन । प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६ सय हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो । 

उहाँका  अनुसार निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । तीमध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न रु ३ करोड र पुरानो १ सय हेक्टरमा रु ५० लाख बजेट बिनियोजन गरिएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । ठेकेदार कम्पनीले रु एक करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केही दिनभित्र काम शुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिनुभयो । 

नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ । प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्नका लागि  निकासा भएको जानकारी दिनुभयो । गत वर्ष रु १९ लाख मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो । 

उहाँका अनुसार यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने भएको छ । यसका लागि उपकरणसमेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ । आउँदो ३ वर्ष्भित्र १ हजार ५ सय हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ । 

चालु आवमा ४९  पोखरीको मर्मतसम्हार, निर्माण र व्यवस्थापन गरिने कार्यक्रम  छ । दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा विशेष जोड दिएको हो । गत आर्थिक वर्षमा निकुञ्जमा ४३  गैँडा प्राकृतिक कारणले मरेका थिए । यस वर्ष हालसम्म निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा १८ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।

निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा  भए पनि घाँसे मैदान र पानीका स्रोत कम भएपछि तिनको खोजीमा भौतारिएका गैँडा धेरै मरेको अनुमान छ । दुई वर्षअघि आएको बाढीका कारण बगाएर धेरै गैँडा पश्चिम क्षेत्रमा पुगेका थिए । चैत महिनामा गैँडा गणनासमेत गरिँदै छ । पछिल्लो गणनानुसार निकुञ्जमा ६०५ गैँडा  छन् । पछिल्ला वर्षमा शिकारीका कारण भने गैँडा मरेका छैनन् । (रासस) 

प्रतिक्रिया दिनुहोस